आमाको सम्पत्ति खाएर हेला गरेको अभियोगमा राष्ट्र बैंककी निर्देशक जेल चलान

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । आफ्ना बृद्ध अभिभावकको हेरचाह नगरेको तथा जालसाजी गरेर सम्पत्ति हत्याएको अभियोगमा नेपाल राष्ट्र बैंककी निर्देशक जेल चलान भएकी छन् ।

काठमाडौं जिल्ला अदालतले नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

आफ्नी ८४ वर्षीया आमा शोभा रिजालको जाहेरीका आधारमा २४ चैतमा पक्राउ परेकी सुष्मालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । बाबु-आमाको सम्पत्ति खाएर हेला गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले गरेको अनुसन्धान पछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सुष्माविरुद्ध ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार जाहेरवाला आमा शोभाले सुस्माले सबै सम्पत्ति जालसाजीपूर्वक लिएर सन्तानको कर्तव्य पूरा नगरेको भन्दै छोरीविरुद्ध जाहेरी दिएकी थिइन् ।

१ मंसिर ०७६ मा सुष्माले बुबा भुपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि आमा शोभालाई आफूसँगै राखेकी थिइन् ।

पालन-पोषण गर्ने शर्तमा संरक्षक बनेर सम्पत्तिको जिम्मा लिएकी सुष्माले माछापुच्छ्रे बैंकमा राखेको पैसा र सुन अनधिकृत रुपले निकालेको दाबी गर्दै शोभाले छोरीविरुद्ध जाहेरी दिएकी थिइन् ।

छोरी सुष्मा र उनका पति कमलप्रसाद रेग्मी मिलेर सासु शोभा रिजाल र ससुरा भुपेन्द्र रिजालको नाममा रहेको ३ करोड भन्दा बढी सम्पत्ति खाएको आरोप लागेको छ । सुष्माका पति कमलप्रसाद जल उत्पन्न प्रकोप विभागका पूर्व डिजी हुन् ।

भुपेन्द्र र शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुन र चाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो ।

उक्त रकम सुष्माले जालसाजीपूवर्क झिकेपछि भने आमालाई बेवास्ता गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


प्रतिक्रिया दिनुहोस्