पूर्वराजा सहभागी महाकुम्भ मेलामा कैयौं साधुसन्तलाई कोरोना संक्रमण

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित यतिबेला भारत भ्रमणमा रहेका छन् ।

हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रे हरिद्वारमा जारी महाकुम्भमेलामा सहभागी हुन उनी भारत पुगेका हुन् ।

हरिद्वारमा आयोजित कुम्भमेलाका क्रममा पूर्व राजाको लिखित सम्बोधन पनि सार्वजनिक भएको छ । जहाँ उनले हिन्दूधर्ममाथि भइरहेको अतिक्रमण रोक्न सबैलाई जुट्न आह्वान गरेका थिए ।

कुम्भ मेलामा आज दोस्रो शाही स्नान जारी छ । यसक्रममा कयौं साधुसन्त तथा मेलामा सहभागीहरुले स्नान गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहले ‘हिन्दू सम्राट’को हैसियतमा आज गंगामा शाही स्नान गर्ने कार्यक्रम सार्वजनिक भएको छ । आज सोमबारे औसीसमेत पारेर उनले गंगा स्नान गर्न लागेक हुन् ।

मेलाका लागि गत विहीबार भारत प्रस्थान गरेका पूर्वराजा शाह दम्पतीको सनातन विधिअनुरुप स्वागत गरिएको छ । हरिद्वारमा पूर्वराजा शाहलाई उत्तरखण्डका मुख्यमन्त्री तीरथसिंह रावतले विशेष स्वागत गरेका थिए । शाही स्नान कार्यक्रममा स्वामी कैलाशानन्द गिरी, उत्तरखण्डका मुख्यमन्त्री रावत, केदारनाथका पिठाधीश लागायत साधु सन्तको उपस्थिति रहने जनाइएको छ ।

महाकुम्भको मार्च ११ मा पहिलो शाही स्नान भइसकेको छ भने दोस्रोपटकको शाही स्नान आज गरिएको हो । शाही स्नानका लागि विहान र बेलुकाको समय मिलाइएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार शाही स्नानका क्रममा कोरोना नियमको धज्जी उडाइएको छ । मेलामा सहभागी भएका कयौं साधुमा कोरोना भाइरसको संक्रमण पाइएको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ ।

भारतमा कोरोना भाइरस कोभिड–१९ संक्रमणको महामारी फैलिरहेका बेला महाकुम्भ मेलाको भीडभाडले झन् जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ ।

मेलाका स्थानीय अधिकारी दीपक रावतले ५० हजार व्यक्तिको कोरोना जाँच गर्दा कैयौं साधुमा कोरोना पोजेटिभ देखिएको जानकारी भारतीय सञ्चारमाध्यमलाई दिएका छन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार मेलामा सहभागी धेरैले मास्क लगाएका छैनन् भने सामाजिक दूरी देखिँदैन । भीड धेरै भएका कारण कोरोना प्रोटोकलको पालन भए नभएको जाँचका लागि समेत समस्या देखिएको छ ।

शाही स्नानको एक दिन पहिला उत्तराखण्डमा कोरोनाको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ३३ जनामा कोरोना संक्रमण पाइएको छ भने ८ जनाको मृत्यु भएको छ । देहरादूनमा ५८२, हरिद्वारमा ३८६ नैनीतालमा १२२ कोरोनाको नयाँ केश सार्वजनिक भएको छ ।


प्रतिक्रिया दिनुहोस्