एमालेमा लागेका चार प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको पत्र माओवादीले सभामुखलाई बुझायो

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आइतबार


जनकपुरधाम । पार्टी छोडेर नेकपा एमालेमा लागेका प्रदेश नम्बर २ का चार जना आफ्ना सांसदलाई नेकपा माओवादी केन्द्रले पदमुक्त गर्न सिफारिस गरेको छ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरु प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा लागेपछि माओवादी केन्द्रले चारैजना प्रदेशसभा सदस्यहरुलाई कारबाही स्वरुप पदमुक्त गर्न सभामुख सरोज यादव समक्ष सिफारिस गरेको हो ।

माओवादी केन्द्रले प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुश्वाहा, ज्वाला साह र मोहम्मद समिरलाई कारबाही गर्दै पदमुक्त गर्न सिफारिस गरेको माओवादी केन्द्र प्रदेश २ को संसदीय दलका नेता भरत साहले जानकारी दिए ।

चारैजना प्रदेशसभा सदस्यहरुलाई पदमुक्त गरिएको पत्र सभामुख सरोजकुमार यादवलाई बुझाइएको उनले बताए ।

माओवादी केन्द्रको प्रदेश नम्बर दुईका संसदीय दलका नेता नै एमालेतिर लागेपछि उनीसहित चार जनालाई पार्टीले कारवाही प्रकृया अघि बढाएको हो ।

एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित हुन् । रामचन्द्र मण्डल धनुषा १ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने ज्वालाकुमारी साह बारा क्षेत्र नम्बर ३ को क बाट र कुन्दनप्रसाद कुशवाह रौतहट ३ को ख बाट निर्वाचित भएका थिए । बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले बनेका छन् । उनीहरु चारैजनालाई २४ घण्टे स्पष्टिकरण सोधिएको माओवादी संसदीय दलका प्रमुख सचेतक दिलिप साहले जानकारी दिए ।

चारै जानालाई शुक्रवार नै स्पष्टिकरण पत्र पठाइएको थियो तर उनीहरुले पत्रको जवाफ दिएनन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमार्फत उनीहरुलाई स्पष्टिकरण सोधिएको थियो ।

आज प्रदेश २ को प्रदेशसभा बैठक बस्दैछ । प्रदेशसभा बैठक अघि नै चारै साँसदलाई पदमुक्त गरिने तयारी माओवादी केन्द्रले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्