म्यान्मारमा सैन्य दमन तिव्र बन्दै, एकै सहरमा दर्जनौँको मृत्यु

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


न्यापित । म्यान्मारको उत्तरपूर्वी बगो सहरमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा सेनाले प्रत्यक्ष बल प्रयोग गर्दा कम्तीमा ८० जनाको मृत्यु भएको अभियानकर्मीहरूले बताएका छन्।

मृतकहरूको शव सेनाले लिएर गएको दावी गरिएको छ र ज्यान गुमाउनेको स्पष्ट सङ्ख्या योभन्दा बढीपनि हुनसक्ने बताइएको छ।

प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

सेनाले निर्वाचनका बेला ब्यापक धाँधली भएको दाबी गर्दै आएको छ । उक्त चुनावमा आङ सान सू ची र उहाँको ‘नेशनल लिग फर डिमोक्र््यासी’ दल निर्वाचित भएको थियो। निर्वाचन आयोगले धाँधलीको उक्त दाबीलाई खारेज गरिदिएको थियो ।

पदबाट निष्काशित सांसदहरू र म्यान्मारको संयुक्त राष्ट्रसङ्घका लागि राजदूतले शुक्रवार नै सुरक्षा परिषद्का सदस्यहरूलाई म्यान्मारको सेनाविरुद्ध कदम चाल्न, प्रतिबन्धहरू विस्तार गर्न र हतियारमाथि रोक लगाउन र उडान नहुने क्षेत्र बनाउन आह्वान गरेका थिए ।

उनीहरूले संयुक्त राष्ट्रसङ्घको बैठकमा म्यान्मार ‘विफलताको सँघारमा रहेको’ दावी गर्दै सैनिक सरकारविरूद्ध कडा निर्णय लिन आग्रह गरेको बीबीसीले जनाएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्