घुम्न गएका विद्यार्थीले कर्णालीमा हाम फाले, १ जना विद्यार्थी बेपत्ता

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


धनगढी । कैलालीको चिसापानीस्थित पुलबाट कर्णाली नदीमा हाम फालेका ३ जना विद्यार्थीमध्ये १ जना बेपत्ता भएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार शनिबार चिसापानी घुम्न गएका युवाहरुले कर्णालीको पुलबाट कर्णालीमा हाम फालेका थिए ।

कर्णाली नदीमा ३ जना युवाले हाम फालेकामा २ जनाको उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये लम्कीचुहा नगरपालिका-१ का १८ वर्षीय लोकेश प्याकुरेले घाइते छन् ।

प्याकुरेलको अहिले नेपालगञ्जमा उपचार भइरहेको जनाइएको छ । उनको छातीमा चोट लागेको जनाइएको छ ।

नदीमा हाम फालेर उद्धार गरिएका अर्का किशोर १७ वर्षीय विरेन्द्र सिंहको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

उनीहरु एकै विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रहेका जनाइएको छ । शनिबार उनीहरु ८ जनाको समूहमा चिसापानी घुम्न गएका थिए ।

घुम्नका लागि भनेर चिसापानी पुगेका उनीहरुले कर्णाली नदीमा किन हाम फाले भन्ने विषय भने खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्