भारतमा एकैदिन १ लाख ५२ हजार जनामा कोरोना संक्रमण

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ८७९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका समेत गरी भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १ करोड ३३ लाख नाघेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ८३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६९ हजार २७५ पुगेको छ ।

भारतमा हालसम्म कोरोना संक्रमण देखिएकामध्ये १ करोड २० लाख ८१ हजार जना संक्रमण मुक्त भएका जनाइएको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ११ लाख ८ हजार रहेको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै छत्तीसगढमा १४ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उत्तर प्रदेशमा १२ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै केरला, कर्नाटक, तामिलनाडु, दिल्ली, गुजरातमा पनि नयाँ संक्रमितको संख्या पाँच हजारभन्दा धेरै छ ।

गत फेब्रुअरीयता भारतमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ ।

फ्रब्रुअरीयता भारतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा छ ।


प्रतिक्रिया दिनुहोस्