माओवादी केन्द्रले प्रदेश २ को संसदीय दलमा छान्यो नयाँ नेता

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा भरतप्रसाद साहलाई चयन गरेको छ ।

एमालेसँग पार्टी एकता हुनु अगाडि माओवादी केन्द्रको संसदीय दलका नेता रहेका रामचन्द्र मण्डल पार्टी पुनर्जीवित हुँदा नेकपा एमालेमा प्रवेश गरेपछि उनको स्थानमा साह चयन भएका हुन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते सुनाएको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटित भइ एमाले र माओवादी पुनः अस्तित्वमा आएपछि मण्डल एमालेतिर लागेका थिए ।

दलको बैठकले मण्डललाई हटाएर शनिबार साहलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

साह महोत्तरीबाट प्रदेश सभामा निर्वाचित सांसद हुन् । बैठकले सिराहाबाट निर्वाचित जगतप्रसाद यादवलाई उपनेता चयन गरेको छ ।

प्रमुख सचेतकमा सिराहाका दिलीप साह र सचेतकमा रुवि कर्ण चयन भएका छन् ।

बैठकले प्रतिनिधिसभा विघटनपश्चात् प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका रामचन्द्र मण्डल, ज्वाला साह, मो. समिर, कुन्दन साहलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् ।


प्रतिक्रिया दिनुहोस्