छोराले गरे बाबुको हत्या

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


विराटनगर । विराटनगर महानगरपालिका–८ बलुवाईमा शनिबार राति छोराले आफ्नै बाबुको हत्या गरेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार ५४ वर्षीय विको सहनी मुखियाको हत्या भएको हो । माइलो छोरा २५ वर्षीय रवि सहनी मुखियाले बाबु विकोको हत्या गरेको जानकारी उनले दिए ।

स्थानीय बासिन्दाका अनुसार विको बाँसको भाटाको बेरा लगाएर बनाइएको घरमा पसल राखेर घरेलु मदिरा बिक्री गर्थे। राति अवेरसम्म मदिरा पसल खुल्लै राखेको देखेपछि रविले बन्द गर्न आग्रह गरेको विषयलाई लिएर बाबु र छोराबीच विवाद भएको थियो । विवाद बढ्दै गएपछि उनले बुवालाई कुटपिट गर्दै धकेलिदिएको प्रहरीले जनाएको छ।

धकेल्दा घरको बेरा लगाएको बाँसको भाटामा विको ठोक्किएर घाइते भएका थिए । उनको घाँटीमा भाटाले छेडेको चोट छ । घाइते अवस्थामा उपचारका लागि कोसी अस्पताल पुर्‍याइएका विकोलाई राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी राईले दिए।

घरमा विकोको जेठो छोरा लेटु सहनी मुखिया ज्वरो आएर बिरामी परेका थिए । उनलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइएको थियो । जेठो छोरालाई लिन आएको एम्बुलेन्समै राखेर माइलो छोरासँगको झगडामा घाइते भएका विकोलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्