प्रचण्डले भने– ओलीको सरकार अब धेरै दिन टिक्दैन

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १२ : १४


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अबको केही दिनमै नयाँ सरकार गठन हुने बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नरहने पनि प्रचण्डले दाबी गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै आफूहरु जनतालाई दु:ख नदिइकन, आन्दोलन नगरिकन नयाँ सरकार गठनको प्रयासमा रहेको बताए ।

उनले मुलुकमा अझै सेटिङ रहेको र अराजकताको कालो बादल मच्चिइरहेको तर्क गरे । उनले आफूहरुले नयाँ सरकार बनाएर यसलाई सच्याउन लागेको र त्यो सम्भव नभएर नयाँ विद्रोहमा मुलुक जाने संकेत गरे ।

‘एउटा नयाँ खालको विद्रोहमा संगठित हुनुपर्ने जानुपर्ने अवस्था निकट भविष्यमै आउन सक्छ । हामी नयाँ सरकार बनाएर अगाडि बढ्न सकेनौं भने विद्रोहको विकल्प छैन,’ उनले भने ।

ओलीको प्रतिगामी कदमको प्रतिवाद सिंदरबारभित्रैबाट, देशभरीबाट हुने उनले बताए । उनले वर्तमान सरकार धेरै दिन नचल्ने पनि बताए ।

प्रचण्डले मिलेर बसेको शक्तिलाई छुटाएर जबरजस्ती डिभोर्स गरिएकोमा आफूहरुले पुनर्मिलन चाहेको बताए । एमालेको माधव नेपाल समूहको नाम नलिई उनले उक्त कुरा बताएका हुन् ।

नेपालमा ओली समूहले संसारमा कहीँ नभएको असंवैधानिक कदम चालेको प्रचण्डले आरोप लगाए ।

ओलीले जबर्जस्ती संसद विघटन गरेर देशलाई बेमौसमी चुनावमा धकेलेर अँध्यारो सुरुङतिर धकेलेको बताए । जनताले सडकमा उत्रिएर त्यसको प्रतिकार गरेको र त्यसलाई सच्याएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्