शनिबार र बिदाका दिन पनि बैंक खोल्नुपर्ने, कर्मचारीलाई बिदा थपियो

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १० : १६


काठमाडौं । वर्षका ४ महिनामा अब सार्वजनिक बिदा र शनिबारको दिन समेत बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेर असोज, पुष, चैत र असार महिनामा सबै सार्वजनिक बिदाका दिनमा पनि कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।

यी महिनाका २५ गते र त्यसपछि मसान्तसम्म राजस्व सङ्कलन हुने भएकाले बैंकका शाखाहरू खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्था एवं नेपाल क्लियरिङ हाउस पूर्णकालीन रूपमा खुला गरी राजस्व बुझ्ने व्यवस्था गर्न र गराउन राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले आगामी वर्षभर ३२ दिन बिदा पाउने भएका छन् ।

राष्ट्र बैंकले नयाँ वर्ष २०७८ मा कर्मचारीले ३२ दिन बिदामा बस्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले नयाँ वर्ष २०७८ मा बैंक बिदाको सूचनामा बैंकका कर्मचारीहरूले एक वर्षमा ३२ दिन घर बस्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार एक वर्षमा ३२ दिन बैंक बन्द हुने भएका छन् भने सरकारी बिदा र कर्मचारीको संस्कृति वा उनीहरूले मनाउने पर्वअनुसार उनीहरू बिदा
लिन पाउने छन् । नयाँ वर्ष २०७८ को वैशाखमा १ गते देशभरका बैंकहरूमा बिदा दिइएको छ ।

राष्ट्र बैंकका अनुसार वैशाखमा दुई दिन, जेठमा दुई दिन, भदौमा तीन दिन, असोज नौ दिन, कात्तिकमा छ दिन, मङ्सिरमा दुई दिन बिदा दिइएको छ भने पुषमा बिदा दिइएको छैन । फागुनमा तीन दिन र चैतमा चार दिन बिदा दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्