भूमिका श्रेष्ठको नागरिकतामा नाम र लिंग फेर्न स्वीकृति दिने सरकारको निर्णय

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : २४


सरकारले तेस्रोलिंगी महिला भूमिका श्रेष्ठको नागरिकतामा नाम र लिंग परिवर्तन गर्न स्वीकृती दिएको छ।

भूमिकाले आफ्नो नाम र लिंग फेर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएकी थिइन्।

मन्त्रीपरिषद् बैठकले उनलाई स्वीकृति दिएको छ।

चैत २३ गते बसेको मन्त्रिपरिषद बैठकले यसअघि कैलाश श्रेष्ठको नाममा लिंग अन्य कायम भई जारी भएको नागरिकताको विवरण संशोधन गरी नाम भूमिका श्रेष्ठ र लिंग महिला कायम गरी प्रतिलिपी दिन प्रशासन कार्यालयलाई स्वीकृति दिएको हो।

मन्त्रिपरिषदको बैठकले राष्ट्रपति चुरे संरक्षण आयोजनामा पर्वत फलेबासका डा.किरण पौडेललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन्।

बैठकले विदेशमा बस्ने नेपालीका लागि नेपाली भाषामा शिक्षण सिकाईका लागि कुनै संस्था वा व्यक्तिले अनुमति मागेमा विदेशमा विद्यालय सञ्चालनका लागि निर्धारित सर्तका आधारमा अनुमति दिने निर्णय गरेको छ।

यस्तै त्रिभूवन विश्वविद्यालयको स्वामित्वमा रहेको ६० रोपनी जग्गामा त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान अन्र्तगत नेफ्रोलोजी र यूरोलोजी अध्ययन अध्यापन तालिम र उपचारका लागि भवन बनाउन त्रिविलाई स्वीकृति दिने निर्णय गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा विज्ञापन बोर्डको अध्यक्षमा काभ्रे पनौतिका लक्ष्मण हुमागाँईलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गुरुङले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्