टिकटकमा भाइरल भएको ललितपुरको मलपोखरीमा प्रवेश निषेध

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : ३१


काठमाडौं । टिकटकमा भाइरल बनेको ललितपुर महानगरपालिका ४ धोबिघाटस्थित मल पोखरीमा प्रवेश निषेध गरिएको छ ।

केही युवायुवतीहरूले टिकटकमा भिडिओ हालेपछि भाइरल बनेको मलपोखरीमा दुर्घटना नहोस् भनेर जान निषेध गरिएको हो ।

तल पोखरी भए पनि माथि माटो र घाँस भएकाले त्यहाँ जान सकिन्छ । त्यही ठाउँमा युवायुवतीहरू उफ्रिएर, नाचेर, दौडिएर भिडिओ बनाउन थालेका थिए ।

दलदलमा कोही पसेमा दुर्घटना नै हुन सक्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरले वडा कार्यालयलाई निषेधित क्षेत्र भन्दै बोर्ड राखिदिन आग्रह गरेको थियो ।

अहिले महानगरीय प्रहरी प्रभाग बल्खु र वडा ४ को समन्वयमा सो क्षेत्र निषेधित घोषणा गर्दै बोर्ड राखिएको हो ।

मलपोखरीको दलदलको माथि जोखिमपूर्ण रूपमा जाने तथा अनावश्यक रूपमा भिडिओ तथा फोटो खिच्दा दलदल भासेर ज्यान समेत जान सक्ने भएको हुँदा सो किसिमको क्रियाकलाप यस स्थानमा गर्न निषेधित गरिएको छ,उक्त बोर्डमा लेखिएको छ ।

प्रहरीले आग्रह गरेपछि बिहीबार साँझ नै वडा कार्यालयले बोर्ड राखेको वडाध्यक्ष नारायण केसीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्