सर्वोच्चका प्रस्तावित न्यायाधीश सुवेदीको योग्यतामाथि बारले उठायो प्रश्न

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ३ : ०८


काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसनले प्रस्तावित न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधिस हुन योग्य नरहेको जनाएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै बारले सुवेदीको योग्यतामाथि प्रश्न उठाएको छ।

गत फागुन २८ गते सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका सुवेदीको योग्यता नपुगेको भन्दै बारको धारणा सार्वजनिक गरेको हो।

सर्वोच्च अदालतको न्यायाधीश हुन कानुनमा स्नातक गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमाा कम्तीमा ५ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ । तर, सुवेदी सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार रहेकै बेला उच्च अदालतको न्यायाधीश बनेपनि ३ वर्ष २ महिनामात्र न्यायाधीशका रूपमा काम गरेका छन्।

“न्यायपरिषद्बाट फागुन २८ मा सिफारिस गर्दाका मितिसम्म उहाँले मुख्य न्यायाधीशको पदमा रहेर ३ वर्ष २ महिना ३ दिनमात्र काम गरेको देखिन्छ। यसर्थ उक्त नियुक्तिले संविधानको भावना र मर्मविपरीत भएको यस बारको ठहर छ,” सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ। त्यस्तै, एक क्षेत्रको अनुभव अर्को क्षेत्रमा गणना गर्न नमिल्ने पनि सर्वोच्च बारको धारणा छ।


प्रतिक्रिया दिनुहोस्