विद्यालय र भीडभाड हुने क्षेत्र बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ११ : २९


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ ।

गत वर्षको चैतमा सरकारले लकडाउन गरेपछि केही महिनादेखि मात्र विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ । तर दोस्रो लहरको कोरोना महामारी आएको र यो थप फैलन सक्ने भएका सावधानी अपनाउन लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्व गौतमले बताए ।

‘अहिले विद्यालय बन्द गर्नुपर्छ। पठनपाठन गर्ने हो भने अनलाइनबाट गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्छ।’

विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले जानकारी दिए । ‘विद्यालयलगायत बन्द गर्न सिसिएमसीमा सिफारिस गरेका हौं ।’

उनले भने, ‘बुधबार नै निर्णय गरेर सिसिएमसीमा पठाइएको छ।’ डा गौतमका अनुसार बुधबार नै यसबारे निर्णय गरेर सीएमसीमा पठाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले भने विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताए ।

जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै सञ्चालन हुने उनको दावी छ ।

कोरोनाको नयाँ ग्राफ कसरी अगाडि बढ्छ भन्ने आधारमा तत्काल कुनै नयाँ निर्णय हुनसक्ने सम्भावना समेत रहेको भन्दै उनले हाल परीक्षाको कार्यतालिका हेरफेर सम्बन्धमा नसोचिएको र कुनै छलफल समेत नभएको जानकारी दिए ।

यसमा स्थानीय तहहरूले पनि विद्यालयलाई सचेत गराउनुपर्ने र आवश्यकताअनुसार अनुगमन समेत गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सुरक्षा सबैले अपनाउनुपर्ने स्पष्ट गर्दै आउँदो जेठ, असार महिनामा कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्न सक्ने भनेका थिए ।

स्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा पालना नभए कोरोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेतावनी समेत उनले दिएका थिए ।

पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ । बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्