नयाँ सरकारकार गठनमा कांग्रेसको अग्रसरता, निर्णायक जसपा

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ११ : १६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता दिने निर्णय गरेको एक साता वित्नै लाग्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्ता गठवन्धनबारे छलफल गर्ने भएको छ ।

नेपाली कांग्रेसले ओली सरकारलाई समर्थन गरिरहेको दल माओवादी केन्द्र र सत्ता गठवन्धनमा निर्णायक देखिएको जनता समाजवादी पार्टी(जसपा)सँग छलफल गर्न लागेको हो ।

शुक्रवार(आज) दिउँसो ३ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा छलफल गर्न लागेका हुन् ।

गत शुक्रवार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेको थियो । कांग्रेसको यस्तो निर्णयसँगै उत्साही देखिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिनमा राजनीतिक कोर्ष परिवर्तन हुने बताएपनि त्यस अनुरुप घटनाक्रम विकास हुन सकेको थिएन ।

आफूलाई सत्ताबाट हटाएर देखाउन प्रधानमन्त्री ओलीले निरन्तरजसो चेतावनी दिइरहेपनि कांग्रेस माओवादीले कुनै निर्णायक कदम चाल्न सकिरहेका थिएनन् ।

कांग्रेस र माओवादीले ओलीको राजीनामा मागिरहँदा सबैको ध्यान जसपा तर्फ सोझिएको थियो । तर गत शुक्रवार यता न त देउवाले सरकार बनाउन अग्रसरता लिए न जसपाले कुनै निर्णय नै गर्न सक्यो ।

आजको बैठकमा देउवा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सम्बन्धमा पार्टीले लिएको निर्णय औपचारिक रुपमा जानकारी गराई माओवादी केन्द्र र जसपाको औपचारिक धारणा माग्ने तयारीमा छन् ।

नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले वैकल्पिक सरकार गठनका लागि अधिकत्तम सहमति जुटाउनको लागि माओवादी केन्द्र र जसपासँग छलफल गर्न थालिएको बताए ।

जसपाभित्र सत्ता साझेदारीको विषयमा देखिएको दुई धारका कारण नयाँ राजनीतिक समिकरण कस्तो हुन्छ भन्ने अझै निश्चित भइसकेको छैन ।

केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरिरहेको माओवादी केन्द्रले सरकार बनाउनका लागि कांग्रेसलाई साथ दिने बताउँदै आएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासँगको लगतारको छलफलपछि प्रचण्डले सरकारको नेतृत्वबारे तत्काल निर्णय गर्न आग्रह गरेका थियो जसलाई कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले औपचारिकता दिएको थियो ।

कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै माओवादी केन्द्र उत्साही देखिएको छ । तर, जसपाले कुनै निर्णय गर्न नसक्दा भने तीन दलबीचको गठबन्धन भने बन्न सकिरहेको छैन ।

नेकपा एमालेमा चर्को विवाद देखिएपनि असन्तुष्ट पक्षले पार्टीले गर्ने निर्णयलाई मान्ने बताइसकेको छ । एमाले एकतावद्ध रहँदासम्म नेपाली कांग्रेसलाई माओवादी केन्द्र र जसपाको समर्थन आवश्यक रहन्छ ।

नयाँ सरकारलाई लिएर दुई थरि धार रहेको जसपाले अब त्यसबारे निर्णय गर्नुपर्ने अवस्था बनेको छ ।

जसपाभित्र अध्यक्षहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको बहिर्गनको र कांग्रेससँगको गठवन्धनको पक्षमा रहेपनि अध्यक्ष मन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेता भने ओलीको पक्षमा रहेका छन् ।

जसपाका एक अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको बिदाइ आफूहरूको पहिलो लक्ष्य भएको बताए ।

कांग्रेसले अविश्वास प्रस्ताव ल्याएमा समर्थन गर्ने बताउँदै उनले भने, “कांग्रेसको नेतृत्वमा सरकार बन्छ भने हामीले त्यसको स्वागत गर्छौँ ।“ जसपाका विभिन्न मागहरूबारे सरकारसँग उसको शृङ्खलाबद्ध छलफल जारी छ । यादवले त्यो सरकार बनाउने वार्ता नभएको उल्लेख गर्दै जेलमा रहेका आफ्ना नेता कार्यकर्ताहरू रिहा र मुद्दा खारेज हुनुपर्ने बताए ।

तर नेता राजेन्द्र महतोले भने आफूहरुको प्राथमिकता पार्टीले उठाउँदै आएका मागहरु पूरा हुने विषयसँग सम्बन्धित रहेको बताए ।

उनले भने, “हाम्रा मुद्दा र मागको सम्बोधन गराउने प्रयासमा तीनवटै दलसँग कुरा गरिरहेका छौँ, हामी सत्ता समीकरणको खेलमा छैनौँ ।“ ’कुनै सरकारलाई समर्थन गर्ने विषयमा पार्टी निर्णयअनुसार हुने’ उनको भनाइ छ ।

कांग्रेस र माओवादी केन्द्रका नेताहरुले सत्ता गठवन्धनका बारेमा बल जसपाकै कोर्टमा रहेको बताइरहेका छन् । तर जसपाका नेताहरुले भने गठवन्धनले आफ्ना मागहरुको सम्बोधन कसरी गर्छ भन्ने कुरा महत्वपूर्ण रहेको बताउँछन् ।

ठाकुर लगायत ओलीसँग निरन्तर छलफलमा रहेको र आफ्ना मागहरुबारे सरकार सकारात्मक भएको बताइरहेका छन् । रेशम चौधरीको रिहाइ लगायतका विषयमा सरकार गम्भीर बनेको र वार्तासमेत भइरहेको अवस्थामा जसपाको एक पक्षले ओलीलाई समर्थन गर्ने बलियो सम्भावना रहेको देखिएको छ । कतिपयले जसपा एकीकृत रुपमा कांग्रेस माओवादीको गठवन्धनमा सहभागी हुनेमा शशय व्यक्त गरिरहेका छन् ।

विहीबार मात्रै जसपाले विभिन्न मुद्दा लागेका २०० सयभन्दा बढी नेता र कार्यकर्ताको नामावली गृहमन्त्रालयलाई बुझाएको छ । केही मुद्दा फिर्ताको लागि प्रक्रिया पनि शुरु भएको छ । त्यसैले जसपाका नेताहरु ओलीसँगको वार्ताको परिणाम केही समय कुर्ने पक्षमा छन्, त्यसैले जसपाले सरकारका सम्बन्धमा तत्काल कुनै निर्णय नगर्न सक्छ ।

संसदमा ३२ सिट भएको जसपा एकताबद्ध भएर कांग्रेसलाई समर्थन गर्ने निर्णय नगरेसम्म वैकल्पिक सरकार बन्नसक्ने अवस्था देखिँदैन ।


प्रतिक्रिया दिनुहोस्