राष्ट्रपतिले ६३३ जनालाई मान पदवीले विभूषित गर्दै

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ८ : ५३


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गर्ने भएकी छिन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शितल निवासमा बिहान १० बजे शुरु हुने विभूषण समारोहमा विभिन्न व्यक्तिलाई विभूषित गर्न लागेकी हुन् ।

महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेष्णी, एज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीलगायतका पदवी र अलंकार विभिन्न क्षेत्रका सयौँ व्यक्तिलाई प्रदान गर्न लागिएको हो ।

२०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार त्यही वर्ष असोज ३ गते संविधान दिवसका अवसरमा सुशोभन गर्ने भनिएकोमा कार्यक्रम स्थगित भएपछि रोकिएका ४५० जनालाई पनि आज पदक वितरण गर्न लागिएको गृह मन्त्रालयले जानकारी दिएको ।

सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षमा गृहमन्त्री रामबहादुर थापा, प्रा.डा.मीना वैद्य मल्ल, प्रा.डा. ईन्द्रजित राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव, उपरथी विनोद कुमार श्रेष्ठ र गृह सचिव महेश्वर न्यौपाने सदस्य रहेको विभूषण समितिको बैठकले विभूषित हुने व्यक्तिहरुको नाम तय गरेको हो ।

विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई मानपदवीबाट विभूषित गरिँदै आएको छ । तर, पछिल्लो समय मानपदवी वितरणमा व्यक्तिगत स्वार्थ र राजनीति हाबी भएको भन्दै कतिपय व्यक्तिले मानपदवी बहिस्कार गर्दै आएका छन् ।

यसअघि विभूषणका लागि छनोट गरिएका निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती, पूर्वराजदूत ज्ञानचन्द्र आचार्य र वरिष्ठ अधिवक्ता शम्भु थापा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यले प्राप्त मानपदवी लिएका छैनन् ।

यस्तै, गायक पशुपति शर्मा, लेखक झलक सुवेदी, पत्रकार शिव गाउँले, क्रिकेटर पारस खड्का, सन्दीप लामिछानेलगायतले पनि मानपदवी लिएका छैनन् । उनीहरूका मानपदवी गृह मन्त्रालयमै थन्किएको अवस्थामा रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्