पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा नारायण शर्मा निर्वाचित

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : ३२


काठमाडौं । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशमा नारायणप्रसाद शर्मा निर्वाचित भएका छन् ।

बिहीबार राति सकिएको अन्तिम मत गणनामा शर्माले अध्यक्षका प्रत्यासी प्रेस चौतारीका दीपेन्द्र श्रेष्ठलाई १२४ मत अन्तरले पराजित गरेका हुन् ।

निर्वाचनमा युनियन गठबन्धनले पदाधिकारीसहित सदस्यमा वर्चश्व कायम गरेको छ ।

शर्माले प्रदेशका कुल ११ जिल्लामा गरी कुल ५३८ मत प्राप्त गर्दा अत्यक्षका प्रत्यासी श्रेष्ठले ४१४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले जानकारी दिएका छन् ।

महासंघ प्रदेशमा निर्वाचित शर्मा यसअघि उपाध्यक्ष थिए भने पराजित श्रेष्ठ पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष हुन् ।

यस्तै उपाध्यक्षमा दीपक भट्टराई, महिला उपाध्यक्षमा सोनी शर्मा, महासचिवमा गोविन्दप्रसाद सुवेदी, खुला सचिवमा यदुनाथ बञ्जारा, समावेशी सचिवमा सुशीलबाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र न्यौपाने विजयी भए ।

यस्तै खुला सात सदस्यमा प्रदीप पौडेल, सुनिल पाण्डे, ताराप्रसाद शर्मा, परशुराम शर्मा आचार्य, प्रकाश डोटेल, लोकेन्द्रबहादुर सुनार, र रमेश बस्ताकोटी निर्वाचित भए । महिला सदस्यमा रञ्जिता शर्मा, राधिका शर्मा कँडेल र रोशन गुरुङ विजयी भए ।

दलित सदस्यमा सानेबहादुर नेपाली (कोइराला), आदिवासी जनजाति सदस्यमा रुद्रबहादुर थापा र रामजी राना, अल्पसंख्यक सदस्यमा पदम छन्त्याल निर्वाचित भए । प्रदेशमा २१ सदस्यीय कार्यसमितिको लागि एकैपटक निर्वाचन भएको हो ।


प्रतिक्रिया दिनुहोस्