सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव एकैदिन : देवेन्द्र पौडेल

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन यथाशक्य चाँडो फिर्ता लिने स्पष्ट पारेका छन्।

उनले सरकारलाई दिएको समर्थन फिर्ता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव एकै पटक आउने पनि विश्वास दिलाए।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफूहरु वर्तमान सरकारलाई विस्थापित गर्ने कुरामा स्पष्ट भैसकेको जनाए। तर, सत्ता समिकरणको निर्णायक शक्ति जनता समाजवादी पार्टी, नेपाल भने अन्यौलमा रहेको उनको भनाई थियो।

वर्तमान प्रधानमन्त्री ओलीले जनमतको अपमान गरेको उनको आरोप छ।

उनले भने,‘उहाँले जनमतको सम्मान गर्नसक्नुभएन, सरकार र संसद्को राम्रो व्यवस्थापन पनि गर्न सक्नुभएन, पार्टीको त झनै गर्न सक्नुभएन।’ पुष ५ गते संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध आफूहरु सडक संघर्षमा गएको र त्यतिवेला प्रधानमन्त्रीको कदमको विरोध कांग्रेस र माओवादी केन्द्रले पनि गरेको उनको भनाई छ।

उनले संसद पूनःस्थापना भएपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने थियो भन्ने धारणा राखे।

अहिलेपनि प्रधानमन्त्री ओलीले संसद् विघटन ठिक थियो र फेरि पनि ताजा जनादेशमा जानुपर्छ भनेर भन्ने गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई खेलाँचीको संज्ञा दिए।

उनले प्रधानमन्त्री ओलीले आफ्नो कुर्सी र पद जोगाउनको लागि अस्थायी प्रकृतिको तमसुक गर्न खोजिरहेको पनि आरोप लगाए। उनले भने,‘उहाँले गर्ने अस्थायी प्रकृतिका सम्झौताले समस्याको समाधान हुँदैन् । सहमति कार्यान्वयन गर्ने सवालमा प्रधानमन्त्री ओली उदासिन हुनुहुन्छ। सरकारको आयु लम्ब्याउन उहाँले पद बाँड्ने र लोभ र लालच देखाउने र आश्वासन बाँड्ने काम गर्दै हुनुहुन्छ ।’

उनले मुद्दाको हिसाबले सहकार्य हुनुपर्नेमा जोड दिँदै कांग्रेस, माओवादी केन्द्र र जसपा मिल्नुपर्ने धारणा राखे। उनले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बताए।

आफ्नो पार्टी यो विषयमा स्पष्ट रहेको उनले सुनाए। आफ्नो पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकोले अब केही दिनभित्रै समर्थन फिर्ता लिइने पनि उनले जनाए । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता एकैपटक हुनेपनि उनले स्पष्ट पारे।

उनले भने,‘प्रधानमन्त्रीसँग हाम्रो विश्वास टुटेको छ। कांग्रेस दोस्रो ठूलो दल हो, उसले सरकारको नेतृत्व लिनेगरि पहलकदमी र नेतृत्व लिनुपर्छ । हामीले कांग्रेसलाई सरकारको नेतृत्व लिनुपर्छ भनेका छौं।’


प्रतिक्रिया दिनुहोस्