माओवादी केन्द्रको चरित्र, न पोथी न भाले : महेश वस्नेत

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्रीको राजीनामा माग्ने तर सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने माओवादी केन्द्रको चरित्र न पोथी न भालेको अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

उनले माओवादीले समर्थन फिर्ता गरेको अवस्थामा मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बताए ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद बस्नेतले सर्वोच्च अदालतले नेकपा विभाजन गरेको अवस्थामा विश्वासको मत लिनुपर्छ भन्ने कुरा कुतर्क रहेको बताएका हुन् ।

‘प्रधानमन्त्रीको राजीनामा माग्ने र विश्वासको मत लिनुपर्ने कुरा गरेको पनि सुनिन्छ । नेकपा विभाजन भएकाले विश्वासको मत लिनुपर्छ भन्ने कुरा कुतर्क हो । माओवादीले विश्वासको मत फिर्ता लियो भने मात्र विश्वासको मत लिनुपर्छ,’ बस्नेतले भने, ‘हिजो एमालेलाई न पोथी न भाले भन्ने माओवादी केन्द्र अहिले न पोथी न भालेको अवस्थामा छ । न विश्वासको मत फिर्ता लिन्छ । न अविश्वासको प्रस्ताव ल्याउन सक्छ ।’

बस्नेतले राजनीतिलाई अस्वस्थ ढंगले अगाडि बढाउने खेल भएको बताए । ‘आइ डेट पोलिटिक्स भन्नेहरू आई लभ यू केपी ओली भन्दैछन् । धरहराको उद्घाटन हुँदैछ, तामाकोशी उद्घाटन हुँदैछ, मेलम्चीको पानी आयो यो कुराले किन केही माननीयको प्रेसर बढेको छ ?’ बस्नेतले भने ।

प्रधानमन्त्री ओलीले ल्याएका योजनाहरुमा कांग्रेसले सहयोग नगरेको उनको भनाइ थियो ।

सांसद बस्नेतले २०७४ सालको चुनावमा एमालेलाई जनताले बहुमत दिएको र कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेर समानुपातिकबाट ६३ सिट ल्याएको उल्लेख गर्दै भने– ‘प्रधानमन्त्रीलाई चुनौती दिएर बालहठ गर्ने कांग्रेसका साथीहरुलाई म के भन्न चाहन्छु भने यो बोकाको शैलीले दाई गरिँदैन दाई गर्नका लागि गोरुकै शैली चाहिन्छ । अहिले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेले प्रतिनिधित्व गर्छ । प्रधानमन्त्रीले ल्याएका योजनाहरुलाई सके सहयोग गरौँ नसके वस्तुनिष्ठ ढंगले विश्लेषण गरौँ ।’


प्रतिक्रिया दिनुहोस्