‘कहिले धारा खोलेर, कहिले बाल्टिन थापेर, कहिले उठेर, कहिले बसेर मेलम्चीको उद्घाटन’

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  २ : ५५


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं सांसद गगन थापाले काठमाडौंवासीलाई मेलम्चीको पानी खुवाउन ढिला भएकोमा माफी माग्नुपर्ने ठाउँमा जश लिन होडबाजी चलेको बताएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले २०६१/०६२ मा सम्पन्न सम्पन्न गर्नुपर्ने आयोजना २३ वर्ष लगाएर सम्पन्न गरेकोमा यसबीचमा सरकारमा बसेका सबैले माफी माग्नुपर्नेमा जश लिने होडबाजी चलेको बताएका हुन् ।

‘मेलम्ची आयोजना विकास समिति बनिसकेपछि पनि २३ वर्ष लाग्यो, ७/८ वर्षमा सम्पन्न गर्नुपर्ने आयोजना ढिला गरेर हामीले गल्ती गर्‍यौं, अब यस्तो गर्दैनौं भनेर प्रधानमन्त्रीले, हामीले पनि भन्नुपर्ने होइन ?’,थापाले भने, ‘यहाँ त कहिले धारा खोलेर, कहिले बाल्टिन थापेर, कहिले उठेर, कहिले बसेर उद्घाटन गरेको छ, तमासा गरेको छ, चमत्कार भयो भनेको छ ।’

थापाले सरकारले गरेका कामलाई लिएर संसद्मा बहस गर्न आउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिए ।

सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक देखाउँदै सांसद थापाले प्रधानमन्त्रीलाई संसद्मा आएर बहस गर्नका लागि निम्तो र चुनौती दिएका हुन् । प्रधानमन्त्रीले बाहिर ुमिथ्यांक प्रस्तुत गर्दैु मुलुकमा सरकारले राम्रा काम गरेको र समृद्धि भएको भन्ने भाषण गर्ने गरेको भन्दै थापाले तथ्यांकमा टेकेर संसदमा बहस गर्न आउन चुनौती दिएका हुन् ।

‘मैले यहाँ उभिएर कुनै कुण्ठा पोखेको होइन । यो नेपाल सरकारले लेखेको पुस्तक हो । यो पुस्तकमा टेकेर बहस गर्न तयार छु । तथ्य र तथ्यांकमा टेकेर बहस गर्न तयार छु,’ थापाले प्रधानमन्त्री ओलीलाई चुनौती दिँदै भने, ‘म तपाईंलाई संसद्मा निम्तो दिन चाहन्छु, चुनौती दिन चाहन्छु । तपाईं बाहिरका सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के चिलिमे बैठके चौतारे राखेर माथिबाट बोल्ने र तलाबाट ताली बजाउने अनि तपाईंका सांसद संसद्मा आएर बाल कविता वाचन गर्ने ?’

थापाले प्रधानमन्त्रीलाई संसद् छलेर र संसद्‌बाट भागेर नजान भन्दै चुनौती दिए ।

उनले पहिला आफूसँग आएर बहस गर्न र पछि उद्घाटन गर्न बाँकी रहेका पुल उद्घाटन गर्न र ती सकिएपछि बालुवाटारमा खाली रहेको जग्गामा बन्ने घरको उद्घाटन गरेर बस्न भन्दै व्यंग गरे ।

थापाले विकास गर्ने प्रणाली परिवर्तन गर्नका लागि सरकार अग्रसर हुनुपर्ने र त्यसमा आफूहरूले सहयोग गर्न तयार रहेको बताए । मेलम्चीको खानेपानी योजनामा विगत वर्षौंदेखि काम भइरहेको तर सरकारले भने पछिल्ल ५७ दिनमा मात्रै सबै काम भएका हुन् भनेझैं प्रचार गरिरहेको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्