कब्जामा रहेका सुरक्षाकर्मीलाई छाड्न वार्ता गर्न तयार छौं : भारतीय माओवादी

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । भारतीय कम्युनिष्ट पार्टी माओवादी (भाकपा)ले छत्तिसगढमा भएको आक्रमण भारतीय गृहमन्त्री अमित शाहकै कारण भएको आरोप लगाएको छ।

माओवादीले गरेको सो आक्रमणमा २२ सुरक्षाकर्मी मारिएका छन्। केहि घाइते भएका छन्।

सो आक्रमणको जिम्मा लिँदै भारतीय माओवादीले विज्ञप्ति जारी गरेको हो।

‘विकल्प’का नाममा जारी विज्ञप्तिमा माओवादीले कब्जामा रहेका सुरक्षाकर्मीलाई रिहाका लागि वार्ता गर्न तयार रहेको जनाएको छ।

साथै सरकारले विश्वासिलो मध्यस्तकर्ता घोषणा गर्नुपर्ने माग भाकपाले गरेको छ।

माओवादीले विज्ञप्तिमा प्रहरी आफूहरुको शत्रु नभएको र झडपमा मारिएका सुरक्षाकर्मीको परिवारप्रति दुःख प्रकट गरेको उल्लेख छ।

माओवादीले छत्तीसगढको सुकमा र बिजापुर जिल्लामा गृहमन्त्री अमित शाहको योजनामा २ हजारभन्दा बढी सुरक्षाकर्मी आक्रमण गर्न आएको आरोप लगाएको छ।

गत नोभेम्बरमा सुरु भएको सैन्य अभियानमा १५० भन्दा स्थानीयको हत्या भएको र त्यसमा केही आफ्ना नेता र कार्यकर्ता पनि रहेको माओवादीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्