अष्टलक्ष्मी शाक्यको नेतृत्वमा खनाल–नेपाल समूहले बनायो बागमती प्रदेश समानान्तर कमिटी

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १ : ३४


काठमाडौं । एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ ।

केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको समूहले बल्खुस्थित एक पार्टी प्यालेसबाट बागमति प्रदेशमा शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।

समितिको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् । सचिवमा रचना खड्का रहेकी छन् ।

समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने भएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते बैठक राखेर केन्द्रीय सदस्य थप गर्ने, महाधिवेशन घोषणा गर्ने लगायतका निर्णय गरेपछि नेपाल–खनाल पक्ष असन्तुष्ट रहँदै आएको थियो ।

पछि ओलीले पार्टी र नेतृत्व विरोधी गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बित गरेपछि नोपल–खनाल पक्षले ओलीले पार्टी फुटाउन थालेको निष्कर्ष निकाल्दै देशभर समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्