दुर्घटना गराउने चालकलाई जोगाउन नक्कली चालक खडा गर्ने यातायात व्यवसायी पक्राउ

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


इटहरी । सवारी दुर्घटनामा नक्कली चालक खडा गरी सक्कली चालक भगाउने २ जना यातायात व्यवसायीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१२ का जीवन खनाल र सोही स्थानका ३३ बर्षीय नेत्र प्रसाद पाठक रहेका छन् । पक्राउ परेका दुवै जना कोशी यातायात प्रालि इटहरीका संचाक समितिका सदस्य हुन् ।

यही चैत १२ गते सुनसरीको कोशी-८ तीनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको घटनामा नक्कली चालक खडा गरेको प्रकरणमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

बसको ठक्करबाट मोटरसाइकल चालक इलामको इलाम नगरपालिका–८ तिल्केनीका मेख बहादुर राई गम्भीर घाइते भएका थिए । गम्भीर घाइते राईको उपचारकै क्रममा विराट नर्सिङ होममा चैत १३ गते मृत्यु भएको थियो ।

दुर्घटनापश्चात तत्काल चालक फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजी गरिरहेकोमा कोशी यातायात प्रालि इटहरीका संचालक समितिका सदस्यद्वय जीवन र नेत्र प्रसादले सिरहा लाहान- ८ घर भइ विराटनगर बस्दै आएका अमित कुमार गुप्तालाई बसको चालक भनी उपस्थित गराएका थिए ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनीमाथि अनुसन्धान गर्ने क्रममा गुप्ताले आफू दुर्घटना भएको बसको चालक नभएको र आफूलाई ५० हजार रुपैयाँ दिने र सम्मानित अदालतबाट छुट्करा समेत दिलाइ दिने भनी आर्थिक प्रलोभनमा पारी उपस्थित गराएको बयान दिएका थिए ।

झुक्यानमा पारी नक्कली चालक उपस्थित गराएको पाइएपछि यातायात प्रालिका सञ्चालक समितिका सदस्यद्वय जीवन र नेत्र प्रसादलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

पीडितपक्षलाई क्रियाखर्च क्षतिपुर्ति दिलाउनु पर्ने संस्थाको जिम्मेबार कर्मचारी तथा बसका संचालक राजु थापा दायित्वबाट विमुख भई घटनालाई ढाकछोप गरि बास्तबिक चालकलाई जोगाउन खोजेको हुँदा संघका प्रतिनिधीहरु र नक्कली चालक उपर समेतलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार उनिहरु उपर कानुनी कारबाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्