सत्ता समिकरण : कांग्रेस-माओवादी रफ्तारमा जसपाको ‘ब्रेक’ !

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १२ : ११


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता दिने निर्णय गरेसँगै धेरैको ध्यान यतिबेला जनता समाजवादी पार्टी(जसपा) तर्फ सोझिएको छ ।

तर, जसपाभित्र सत्ता साझेदारीको विषयमा देखिएको दुई धारका कारण नयाँ राजनीतिक समिकरण कस्तो हुन्छ भन्ने निश्चित भइसकेको छैन ।

केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरिरहेको माओवादी केन्द्रले सरकार बनाउनका लागि कांग्रेसलाई साथ दिने बताउँदै आएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासँगको लगतारको छलफलपछि प्रचण्डले सरकारको नेतृत्वबारे तत्काल निर्णय गर्न आग्रह गरेका थियो जसलाई शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले औपचारिकता दिएको छ ।

कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै माओवादी केन्द्र उत्साही देखिएको छ । तर, जसपाले कुनै निर्णय गर्न नसक्दा भने तीन दलबीचको गठबन्धन तत्काल बन्न सकिरहेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘प्रधानमन्त्रीको राजीनामा मान्ने र सरकार गठनका लागि पहल गर्ने’ निर्णयसँगै देशको राजनीतिले कोल्टो फेरेको बताएका छन् ।

‘हिजो र आजसम्मको काठमाडौँको राजनीतिक घटनाक्रम अलिकति फेरियो । खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामाको माग गरेपछि र अर्को सरकार गठनको पहल गर्ने निणय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ’, प्रचण्डले शनिवार भनेका थिए ।

कपिलवस्तु पुगेका प्रचण्डले सत्ता गठबन्धनबारे शनिवार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरुसँग टेलिफोनमा कुराकानी गरेका थिए । तर सत्ता समिकरणमा निर्णायक देखिएको जसपाले कुनै निर्णय नगर्दा कांग्रेस र माओवादी केन्द्र समस्यामा परेका छन् ।
सत्ता गठबन्धनका बारेमा माओवादी केन्द्रले आजै जसपाका नेताहरुसँग छलफल गर्ने तयारी गरेको छ ।

नेकपा एमालेमा चर्को विवाद देखिएपनि असन्तुष्ट पक्षले पार्टीले गर्ने निर्णयलाई मान्ने बताइसकेको छ । एमाले एकतावद्ध रहँदासम्म नेपाली कांग्रेसलाई माओवादी केन्द्र र जसपाको समर्थन आवश्यक रहन्छ ।

नयाँ सरकारलाई लिएर दुई थरि धार रहेको जसपाले अब त्यसबारे निर्णय गर्नुपर्ने अवस्था बनेको छ ।

जसपाभित्र अध्यक्षहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको बहिर्गनको र कांग्रेससँगको गठवन्धनको पक्षमा रहेपनि अध्यक्ष मन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेता भने ओलीको पक्षमा रहेका छन् ।

जसपाका एक अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको बिदाइ आफूहरूको पहिलो लक्ष्य भएको बताए ।

कांग्रेसले अविश्वास प्रस्ताव ल्याएमा समर्थन गर्ने बताउँदै उनले भने, “कांग्रेसको नेतृत्वमा सरकार बन्छ भने हामीले त्यसको स्वागत गर्छौँ ।“ जसपाका विभिन्न मागहरूबारे सरकारसँग उसको शृङ्खलाबद्ध छलफल जारी छ । यादवले त्यो सरकार बनाउने वार्ता नभएको उल्लेख गर्दै जेलमा रहेका आफ्ना नेता कार्यकर्ताहरू रिहा र मुद्दा खारेज हुनुपर्ने बताए ।

तर नेता राजेन्द्र महतोले भने आफूहरुको प्राथमिकता पार्टीले उठाउँदै आएका मागहरु पूरा हुने विषयसँग सम्बन्धित रहेको बताए ।

उनले भने, “हाम्रा मुद्दा र मागको सम्बोधन गराउने प्रयासमा तीनवटै दलसँग कुरा गरिरहेका छौँ, हामी सत्ता समीकरणको खेलमा छैनौँ ।“ ’कुनै सरकारलाई समर्थन गर्ने विषयमा पार्टी निर्णयअनुसार हुने’ उनको भनाइ छ ।

समर्थन फिर्ता लिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले भने संसदमा अंकगणितको खेल शुरु भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ओलीले पुनः संसद् विघटन र आफ्नो राजीनामाको सम्भावना देखाएका छन् ।

सधैँ संसद्को अंकगणितले सही निर्णय दिन नसक्ने र त्यस्तो कोसिस भए संसद् विघटन हुन सक्ने प्रधानमन्त्री ओलीको संकेत छ  । यसबाहेक प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले सर्मथन फिर्ता लिए आफ्नो राजीनामा आउने पनि बताएका छन्  ।

संसद्मा अनुपयुक्त ढंगले अंकगणितको खेल हुने र त्यसले अनुपयुक्त आकार लिने सम्भावना आएमा फेरि ताजा जनादेशमा जान बाध्य हुने ओलीको भनाइ छ ।

‘कहिलेकाहीँ कृत्रिम ढंगले केही मान्छेले संसदीय अंकगणितलाई यताबाट उता सार्दिन्छन्, मिलाइदिन्छन्  । संसदीय गणितले सधैँ राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्छ भन्न सकिँदैन,’ ओलीले भने, ‘त्यस्तो भयो भने देश, जनता र विकासको आवश्यकताको अनुकूलताका लागि ताजा जनादेशमा जानुपर्छ ।’

संसद्मा देश, जनता र विकासको आवश्यकताबारे बहस हुनुपर्नेमा त्यसविपरीतका खेल भए ताजा जनादेशमा जानुबाहेकको विकल्प नहुने उनको तर्क छ  । ‘देश, जनता, विकासको आवश्यकताअनुसारको अंकगणित जनप्रतिनिधि संस्थाहरू, खासगरी संसद्लाई बनाउनुपर्छ । यदि त्यो भएन र आवश्यकताभन्दा विपरीतको अंकगणित, विभिन्न व्यक्तिको स्वार्थको खेलबाट अगाडि गए ताजा जनादेशमा जानुपर्छ,’ ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए पदबाट राजीनामा दिने पनि बताएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वको सरकार गठनको पहल थाल्ने निर्णय लिएको अर्को दिन ओलीको यस्तो भनाइ आएको हो । प्रधानमन्त्री ओलीले समर्थन फिर्ता नलिने, तर निरन्तर राजीनामा माग्ने बेठीक भएको भन्दै राजीनामाका लागि समर्थन फिर्ता सर्तका रूपमा अगाडि सारे ।

महन्थ नयाँ प्रधानमन्त्री ?

प्रधानमन्त्री ओलीले आफू सत्ताबाट बाहिरिनुपरे जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार देखिएका समाचारहरु सार्वजनिक भएका छन् ।

ओली देउवा र प्रचण्डलाई सत्ता सुम्पनु पर्ने अवस्था आएको खण्डमा बरु जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार देखिएका छन् । जसपा गठवन्धनका लागि निर्णयक शक्ति देखिइरहेको बेला ओलीले ठाकुरलाई प्रधानमन्त्री बनाउन सकिने संकेत गरेको स्रोतको भनाइ छ ।

यदि ओलीले विश्वास गुमाए र अर्को सरकारका लागि संसदमा मत नजुटे संसद् विघटन स्वतः हुनेछ । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र निर्वाचन मिति तोक्नेछिन् । आफूले गरेको संसद विघटनलाई सही थियो भन्ने देखाउन पनि ओली ‘अर्लि इलेक्सन’ चाहिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्