प्रधानमन्त्रीले भृकुटीमण्डपमा कवि र कविता नै विर्सिएपछि…

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उखान टुक्का मात्र होइन विभिन्न गीत र व्यक्तिहरुका उद्दरण गर्न पनि माहिर छन् ।

कहिले उनी संस्कृतका श्लोहरु भन्छन् त कहिले गीत, कविता सुनाउँछन् । तर उनले भाषणका बेलामा मानिसलाई आफूतर्फ आकर्षित गरिराख्न भन्ने यस्ता भनाइ र उद्दरणहरु गलत हुने गरेको पाइन्छ ।

शुक्रबार पनि यस्तै भयो ।

भृकुटीमण्डपमा मेलम्चीको पानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एउटा लोकप्रिय कविताको पंक्ति उल्लेख गर्न खोजे । तर उनी अलमलमा परे । उनले कविको नाम त लिए तर गलत व्यक्तिको नाम लिन पुगे ।

प्रधानमन्त्री ओलीले गीतकार गोपालप्रसाद रिमालको भन्दै ‘ढुंगाको काप फोरेर पनि’ भन्ने पंक्ति उल्लेख गर्न खोजे । तर उनी अलमलिएर ।

उनले अन्योल र अस्थिरताका बीच विकासको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै कविता पंक्तिलाई जोड्न खोजे । ‘तपाईंहरुले सुन्नुभएको छ एउटा गीत सायद गोपालप्रसाद रिमालले लेख्नु भएको,’ उनले यति भनेपछि कविता पंक्ति उल्लेख गर्न थालेः

‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल, सिर्जना शक्ति हुँदैन कहिल्यै

अनि हाँस्दै भने–बिर्से अहिले ।

एकछिन अलमलिएर कवितालाई पुनः सच्याउन खोजे र भने–

सिर्जना शक्ति हुँदैन कहिल्यै पनि विफल
ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल

उनले अघि थपे–ढुंगाको काप फोरे पनि पिपल उम्रन्छ, पहरो फोरेर पनि मेलम्चीको पानी ल्याइन्छ ।

खासमा प्रधानमन्त्रीले उल्लेख गर्न खोजेको कविता गोपालप्रसाद रिमालको नभइ राष्ट्रकवि माधव घिमिरेको थियो । जसको पंक्ति यस्तो छ

ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल,
सृजनाशक्ति कहिल्यै पनि हुँदैन निष्फल

यही कवितालाई केही वर्षअघि झमक घिमिरेसँग सम्बन्धि एक कार्यक्रममा ओलीले भूपी शेरचनको भनेका थिए ।

राष्ट्रकवि माधव घिमिरे नै सहभागी भएको कार्यक्रममा ओलीले उक्त कवितालाई भूपी शेरचनको बनाइदिए । त्यतिबेला अरुले वास्ता र ख्याल नगरेपनि मञ्चमा बसेका माधवप्रसाद घिमिरे भने मुसुमुसु हाँसेका थिए । घिमिरे हाँसेपछि ओली पनि मुसुमुसु हाँसेका थिए र गल्ती सच्याउने तर्फ लागेका थिए ।

‘यो कविता त माधवप्रसाद घिमिरेले लेख्नुभएको हो क्यारे, आखिर प्रगति गर्ने घिमिरेले नै त हो’ यति भन्दै ओली मुस्कुराएका थिए ।


प्रतिक्रिया दिनुहोस्