ओली अवैध अध्यक्ष हुन्, एमाले उनको पार्टी होइन : रावल

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक जारी छ ।

कलंकिमा बैठक जारी रहँदा बाहिरिएका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको निलम्बनको बैठकले घोर भत्र्सना, निन्दा र विरोध गरेको जानकारी दिए ।

‘बैठकको शुरुमा नै ९ औं महाधिवेशनको मार्गनिर्देशन विपरित, विधान विपरित र सामान्य लोकतान्त्रिक राजनीतिको मान्यता विपरित नेताहरु भुसाल र पाण्डेलाई ६ महिनाको लागि कथित निलम्बनको कुरा गर्नुभएको छ त्यसको निन्दा र भत्र्सना गरेको छ’ बैठकबारे जानकारी दिँदै रावलले भने,‘ओलीको अरुमाथि तानाशाही लाद्ने, निरंकुश र स्वच्छाचारी चरित्रको द्योतक हो भनेका छौं र त्यसको भत्सर्ना निन्दा र विरोध गरेका छौं ।’

उनले ओलीले नेताहरुमा माथि गरिरहेको कारवाहीलाई ‘कथित’ को संज्ञा दिँदै यसले पार्टीको सिद्धान्त र विधान मिचिएको बताए । ‘कथित कारवाहीले पार्टीको सिद्धान्त निती र विधान मिचिएको छ र नेपालको कम्युनिस्ट आन्दोलनलाई लञ्जित बनाउने स्थिति बनेको छ’ रावलले भने ।

एमालेको रक्षा र सुरक्षाका आफूहरुको समूहले पाइला चालेको र त्यसलाई थप गतिशिलताका साथ अघि बढाउने बारे बैठकमा छलफल भएको रावलले जानकारी दिए ।

नेता रावलले ओली नेकपा एमालेको अवैध अध्यक्ष भएको दावी गरे । ‘यो ओलीको पार्टी होइन । पार्टी विधानको धारा १३ को एकले महाधिवेशनको आयोजना केन्द्रीय कमिटीले प्रत्येक पाँच वर्षमा गर्ने छ भनेको छ’ रावलले भने,‘विधानको प्रावधान विपरित जुन आयोजनक कमिटी गठन गर्नु भएको छ र अध्यक्ष भन्नु भएको छ उहाँ अवैध अध्यक्ष हो । उहाँले आफूले आफैलाई किन अवैध किन घोषणा गर्नुभयो त्यो उहाँलाई नै सोध्नु होला ।’

उनले पार्टी गतिविधी सञ्चालनका लागि कार्यालय आवश्यक परेको बताए ।


प्रतिक्रिया दिनुहोस्