काठमाडौंको फोहर आजैबाट उठ्ने

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १ : २०


काठमाडौं । एक हप्तादेखि  नउठाइएको काठमाडौंको फोहोर शुक्रबारदेखि उठाइने भएको छ ।

काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने क्षेत्रका आन्दोलनरत स्थानीय वासिन्दाको माग पूरा गर्ने र उनीहरुले फोहोर फाल्न दिने सहमति भएसँगै आजैबाट फोहर उठ्ने भएको हो ।

फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाहरूले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए ।

शुक्रबार नै सहमतिको मस्यौदा तयार गरेर हस्ताक्षर गर्ने र फोहोर बोकेका गाडीलाई मध्यान्हबाटै सिसडोलमा जान दिने गरी सहमति भएको महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

फोहोर विसर्जनमा अवरोध भएपछि आज काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यसहितको छलफलमा उनीहरुका सकारात्मक माग पूरा गर्ने प्रतिवद्धतापछि फोहोर विसर्जनमा गरेको अवरोध खोल्न उनीहरु सहमत भएका हुन ।

सहमतिअनुसार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा तीन(तीन करोड पाउने भएका छन् ।

प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको तलब खर्च व्यहोर्न काठमाडौं महानगरपालिकाले बजेट अनुदान दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने र डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने महानगरको प्रतिवद्धता छ । तर, तत्कालका लागि वैकल्पिक व्यवस्थामार्फत स्वास्थ्य व्यवस्था मिलाउने सहमति पनि भएको छ ।

स्थानीय प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर्न संघ सरकारसँग अनुरोध गर्ने र सिसडोलको पोस्ट क्लोजर गर्नेबारे पनि सहमति भएको छ ।

 


प्रतिक्रिया दिनुहोस्