विभाजनको अवस्थामा एमाले, नयाँ पार्टी बनाउँदै माधव नेपाल

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार


काठमाडौं । सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलापछि पुनर्स्थापित भएको नेकपा एमाले आन्तरिक विवादका कारण विभाजनको अवस्थामा पुगेको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको ‘टकराव’ले एमाले विभाजनको अवस्थामा पुगेको हो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद पुनर्स्थापित एमालेमा सर्दा संसदको सबैभन्दा ठूलो दल विभाजनको अवस्थामा पुगेको हो ।

एमाले पुनर्स्थापित गएपछि अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा आफू इतरका नेताको जिम्मेबारी खोस्नेदेखि पार्टीको महाधिवेशन तोक्नेसम्मका महत्वपूणर् निणर्य गरेका थिए ।

फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएर ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षका नेताको जिम्मेबारी खोसेका थिए । यस्तै, आफू (अध्यक्ष) र महासचिव बोहक पदाधिकारी खारेज गर्ने, माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने तथा आगामी मंसिर पहिलो साता पार्टीको १० औं महाधिवेशन गर्ने निणर्य गरेपछि खनाल-नेपाल समूह ओलीसँग रुस्ट बनेको थियो ।

ओलीले एकलौटी निणर्य गर्न थालेपछि खनाल-नेपाल समूहले चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्‍यो । सोही कार्यकर्ता भेला आयोजनाको विषयलाई लिएर ओलीले वरिष्ठ नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेर ६ महिनाका लागि पार्टीको संगठित सदस्य समेत नरहने गरी निलम्बन गर्ने निणर्य गरे ।

ओलीले वरिष्ठ नेता नेपालसहित ४ जना शीर्ष नेतालाई कारबाही गरेपछि एमाले टुक्रिने बाटोमा अग्रसर भएको देखिन्छ । ओलीले कारबाही गरेपछि एमालेको खनाल-नेपाल समूहले अब जिल्ला र स्थानीय तहसम्मै छुट्टै कमिटी गठनको कार्यलाई तीब्रता दिएको छ ।

ओलीले प्रदेश कमिटीबाट खनाल-नेपाल समूहलाई हटाएर आफू पक्षीय नेताहरुलाई जिम्मेवारी तोकेपछि एमालेमा समानान्तर गतिविधिको अभ्यास शुरु भएको थियो

खनाल-नेपाल समूहले यसअघि नै प्रदेश कमिटीका संयोजकहरु तोकिसकेको छ ।

खनाल नेपाल समूहले प्रदेश नम्बर १ मा भीम आचार्य, प्रदेश नम्बर २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कणर्ाली प्रदेशमा युवराज ज्ञवाली तथा सुदूरपश्चिम प्रदेशमा भीम रावललाई प्रदेश संयोजक (इञ्चार्ज) तोकेको थियो ।

बिहीबारदेखि खनाल-नेपाल समूहले जिल्ला कमिटी गठनको कार्यलाई समेत अगाडि बढाएको छ ।

सुरेन्द्र पाण्डेलाई संयोजक तोकिएको गण्डकी प्रदेशका सबै जिल्लामा अहिले समानान्तर कमिटीहरु गठन भइसकेको छन् ।

खनाल-नेपाल समूहले गण्डकी प्रदेशका कास्की जिललामा धनराज आयार्य, स्याङ्जामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, तनहुँमा शंकरनारायण श्रेष्ठ अध्यक्ष तोकिएका छन् ।

खनाल-नेपाल समूहले पार्टीको जनवर्गीय संगठनमा यसअघि नै समानान्तर कमिटी गठन गरिसकेको छ । चैत ४ र ५ गते भएको राष्ट्रिय कार्यकर्ता भेला पछि खनाल-नेपाल समूहले महिला, विद्यार्थी र युवा संघको राष्ट्रिय भेला गरेर केन्द्रीय कमिटी घोषणा गरिसकेको छ ।

वरिष्ठ नेता माधव कुमार नेपालले बिहीबार पोखरामा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वमा नयाँ तरिकाले पार्टी गठन गर्ने संकेत गरिसकेका छन् । नेता नेपालले केन्द्रीय कमिटीबाट अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर नयाँ कमिटी बनाउने घोषणा गरे । नयाँ कमिटी बनाउने प्रक्रिया गाउँ-गाउँसम्म पुग्ने पनि उनको भनाइ थियो ।

पोखरामा आयोजित कार्यक्रमबाट नेता नेपालले कार्यकर्ताहरुलाई जिल्ला-जिल्लामा संगठित हुन निर्देशन दिए । अब कमिटीका बैठकहरु नियमित गर्नुपर्ने पनि नेता नेपालले निर्देशन दिए ।

चैत ४ र ५ गते ललितपुरको सानेपामा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको खनाल-नेपाल समूहले पार्टी भित्रै रहेर अध्यक्ष ओलीविरुद्ध देशव्यापी संघर्ष चलाउने निणर्य गरेको थियो । तर, ओलीले कारबाही गर्न थालेपछि अब नेपाल पक्षका नेताहरु पनि ‘सहेर नबस्ने’ मनस्थितिमा पुगेका छन् ।

‘पार्टी विभाजनको विऊ रोप्ने काम अध्यक्ष ओलीबाटै भएको छ । हामीलाई अनावश्यक आरोप लगाएर पार्टीबाट खेद्ने उनको प्रपञ्च छ,’ खनाल-नेपाल समूहका एक स्थायी कमिटी सदस्यले भने, ‘ओलीले जुन क्रियाकलाप अहिले गरिरहेका छन्, त्यसले उनी कारबाहीको भागिदार हुनुपर्छ । उनलाई दण्डित गर्नुपर्छ ।’

नेता नेपालले बिहीबार पोखराको कार्यक्रममा घोषणा गरेजस्तै अब खनाल-नेपाल समूह केन्द्रीय कमिटीको बैठक आयोजना गरेर ओलीलाई अध्यक्षबाट हटाएको निणर्य गर्ने तयारीमा छ ।

केन्द्रीय कमिटी बैठक अगाडि पार्टी केन्द्रीय कार्यालय स्थापनाका लागि भवन खोज्ने तयारीमा खनाल-नेपाल पक्षका नेताहरु छन् । नेता खनालले नै केही दिन अगाडि आफूहरु पार्टी केन्द्रीय कार्यालयका लागि भवनको खोजीमा रहेको बताएका थिए ।

खनाल-नेपाल समूहका नेताहरु अहिले गाउँ-गाउँसम्मै समानान्तर कमिटी गठन गर्नतर्फ लागिने बताउँछन् । सबै जिल्ला र स्थानीय तहहरुमा पार्टी र जनवर्गीय संगठनका कमिटी बनिसकेपछि त्यसलाई पार्टीको रुप दिइने खनाल-नेपाल पक्षका नेताहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्