नाइजेरियामा सैनिक विमान सम्पर्कविहीन

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । नाइजेरियाली सेनाको ‘अल्फा जेट’ विमान सम्पर्कविहीन भएको छ । विमानको ‘राडर’ सँग सम्पर्क विच्छेद भएको त्यहाँको वायुसेनाले जनाएको छ ।

उक्त विमान स्थानीय समयअनुसार साँझ ५ बजेर ८ मिनेट जाँदा राडरसँगको सम्पर्कभन्दा बाहिर गएको नाइजेरियाली वायुसेनाका प्रवक्ता एडवर्ड गाब्वेटले पुष्टि गरेका छन् ।

विमान नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट सम्पर्कबाहिर पुगेको हो । विमानमा कति यात्रु थिए भन्नेबारे खुलाइएको छैन । विमान एक्कासी सम्पर्कबाहिर गएपछि कतिपय नाइजेरियाली सञ्चारमाध्यमले विमान दुर्घटनाग्रस्त भएको आशङ्का व्यक्त गरेका छन् ।

विमान रहेको ठाँउ वा सम्पर्क गुमेको सम्भावनाको कारण अझै पत्ता लागि नसकेको र यसबारे थप सूचना आउँदासाथ जानकारी गराइने प्रवक्ता गाब्वेटले बताए ।

विमानले उत्तरपूर्वमा चलिरहेको विद्रोह नियन्त्रणका लागि खटिएको सैनिक समूहको बन्दोबस्तीका सामान लिएर गएको थियो । विमानको खोज र उद्धार प्रयास जारी रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्