सर्वोच्चद्वारा प्रचण्डको पुनरावलोकन निवेदनलाई निस्सा दिन अस्वीकार

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादको फैसलामा दर्ता भएको पुनरावलोकनको निवेदनलाई निस्सा दिन अस्वीकार गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहितले मंगलबार दर्ता गरेको पुनरावलोकन निवेदनलाई निस्सा दिने विषयमा बिहीबार सुनुवाई भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहित न्यायाधीशहरु तेज बहादुर केसी र प्रकाश कुमार ढुंगानाको पूर्ण इजलासले निवेदनकर्ता प्रचण्डसहितको माग बमोजिम मुद्दामा पुनरावलोकन गर्न अस्वीकार गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको दल पहिले नै आफ्नो नाममा दर्ता रहेको उल्लेख गर्दै ऋण कट्टेलले दर्ता गरेको मुद्दामा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता बदर हुने फैसला सुनाएको थियो ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको फागुन २३ गतेको संयुक्त इजलासले नेकपा नाम कट्टेलको हुने ठहर गर्दै एमाले र माओवादी केन्द्र साबिककै दलका रुपमा रहने फैसला सुनाएको थियो ।

तत्कालीन नेकपाको प्रचण्ड–नेपाल पक्षले सर्वोच्च अदालतको उक्त फैसला राजनीतिक भएको टिप्पणी गर्दै त्यसको पुनरावलोकनका लागि जाने भनेको थियो ।

सर्वोच्चलै फैसला सुनाएको करिब १ महिना पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार पुनरावलोकन निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए ।

तर, सर्वोच्च अदालतको पूर्ण इजलासले प्रचण्डको माग बमोजिम फागुन २३ को फैसलामा पुनरावलोकनको अनुमति नहुने फैसला सुनाएको छ ।


प्रतिक्रिया दिनुहोस्