घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि एमालेबाट निलम्बित

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १२ : ५९


काठमाडौं । नेकपा एमालेका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डे ६ महिनाका लागि पार्टीबाट निलम्बित भएका छन् ।

पार्टीले सोधेको स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नदिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई ६ महिनासम्म पार्टीको संगठित सदस्य समेत नरहने गरी निलम्बन गरेका हुन् ।

एमाले अध्यक्ष ओलीले यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल तथा उपाध्यक्ष भीम रावललाई पनि ६ महिनाका लागि पार्टी सदस्य समेत नरहने गरी निलम्बन गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गतेको फैसलाअनुसार ब्यूतिएको नेकपा एमालेमा आन्तरिक विवाद विभाजनकै स्तरमा पुग्ने गरी चर्किएको छ ।

ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएर आफू (अध्यक्ष) र महासचिव बाहेकका पदाधिकारी खारेज गर्ने, केन्द्रीय कमिटी विस्तार गर्ने र महाधिवेशनको मिति तोक्ने निणर्य गरेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षका नेताहरुले विरोध जनाउँदै आएका छन् ।

ओलीले पार्टीमा एकलौटी निणर्य गर्न थालेको भन्दै खनाल-नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो ।

राष्ट्रिय कार्यकर्ता भेलाका नाममा पार्टीमा गुट चलाएको तथा सामानान्तर गतिविधि सञ्चालन गरेको भन्दै ओलीले नेता नेपालसहितलाई कारबाही हुने चेतावनी दिँदै आएका थिए ।

पछि चैत ७ गते बसेको ओली पक्षीय केन्द्रीय सदस्यहरुको भेलाले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई स्पष्टीकरण सोध्ने निणर्य गरेको थियो ।

चारै नेताहरुले अध्यक्ष ओलीको आलोचना गर्दै स्पष्टीकरणको जवाफ बुझाएका थिए ।


प्रतिक्रिया दिनुहोस्