सिन्धुपाल्चोकमा २ रणनीतिक सडकको छनोट, प्रधानमन्त्रीले घोषणा गर्ने

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १२ : ५८


सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोक जिल्लाको दुबै संघीय निर्वाचन क्षेत्रमा एक एकवटा रणनीीतक सडक छनोट गरिएको छ ।

संघीय सरकारले “ एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक“को अवधारणा अनुसार यसको घोषणा गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त रणनीतिक सडकको घोषणा चैत २१ गते गर्ने निर्णय भएको छ ।

सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्व मन्त्री शेर बहादुर तामाङको बिशेष पहलमा योजना छनोट गरिएको जनाइएको छ ।

सिन्धुपाल्चोक जिल्लाको लागी छनौट भएका सडकहरुमा पहिलो भदौरे – सिन्धु धुसिनि – कटुन्जे – मेलम्ची बजार – नवलपुर – चौतारा – नौबिसे र दोस्रो टुनिबोटे – मिल डाँडा – मांखा – चिम्लिङ – मानेस्वारा – भैरवकुण्ड सडक रहेका छन् । पहिलो चरण अन्तर्गत दुबै सडकमा ४०÷४० करोड खर्च गरेर कालोपत्रे गर्दै लाने कार्यक्रम रहेको जनाइएको छ ।

पूर्व मन्त्री शेर बहादुर तामाङ अनुसार आगामी आर्थिक वर्षमा शुरु हुनेगरी सिन्धुपाल्चोकका अरु थप सडकहरु पनि कालो पत्रेको लागी पहल भैरहेको छ ।

निर्माणाधीन साँखु फट्केश्वर सडकको तिब्रता दिनुको साथै मध्य पहाडी सडकको बाहुनेपाटी – पाटीभन्ज्याङ सडकखण्ड मध्य पहाडी सडक डिभिजनले जिम्मा लिएर यसै आर्थिक वर्षबाट सडक चौडा गरेर कालोपत्रे गर्ने कामको प्रारम्भ हुने तामाङले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्