केपी ओलीलाई हटाएर नयाँ केन्द्रीय कमिटी बनाउँछु–माधव नेपाल

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


पोखरा । नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गरेका छन् ।

बिहिबार पोखरामा आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर नयाँ कमिटी बनाउने घोषणा गरेका हुन् ।

नेता नेपालले कार्यकर्तालाई निर्देशन दिँदै जिल्ला जिल्लामा संगठित हुन निर्देशन दिएका छन् । कमिटीका बैठकहरू नियमित गर्न निर्देशन दिँदै नेता नेपालले अब चाँडै आफ्नो नेतृत्वमा केन्द्रीय कमिटि घोषणा गर्ने जानकारी दिए ।

नेपालले भने, ‘अब चाँडै केन्द्रको पनि घोषणा गर्नेछौं । जिल्लामा सबै संगठित हुनुहोस् । कमिटी बैठकहरू अब नियमित गर्नुहोस् । हामी सबै ठाउँमा संगठित भएर केन्द्रमा पनि घोषणा गर्छौं ।’

नेता नेपालले धेरै युवाको साथ आफूलाई आइसकेको भन्दै खुट्टा कमाएर नभाग्ने र केपी ओलीको कारबाहीबाट नडग्ने बताए ।

यसैबीच कास्कीमा खनाल नेपाल समूहले समानान्तर कमिटी घोषणा गरिएको छ । सो समूहले एमाले कास्की अध्यक्षमा धनराज आचार्यलाई चयन गरेको छ ।

सचिवमा होमबहादुर नेपाली छन् । कार्यसमितिका अरु पदाधिकारी पछि विस्तार गरिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्