माओवादी केन्द्रले भन्यो- सरकारलाई समर्थन छैन, पत्र लेख्न मात्रै बाँकी हो

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १२ : ०९


काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई राजनीतिक समर्थन नरहेको जनाएको छ ।

सरकारलाई राजनीतिक समर्थन नरहे पनि प्राविधिक रुपमा पत्र लेखेर समर्थन फिर्ता लिएको औपचारिक जानकारी दिन मात्रै बाँकी रहेको पनि माओवादी केन्द्रले जनाएको छ ।

वर्तमान सरकारको सन्दर्भमा अरु दल (नेपाली कांग्रेस र जनता समाजवादी पार्टी) स्पष्ट रुपमा नआएका समर्थन फिर्ताको ‘प्राविधिकि विषय’मा निणर्य गर्न अझै केही दिन पर्खिने समझदारी बनेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटीको (अनौपचारिक) बैठकमा कांग्रेस र राजपाले स्पष्ट अडान लिएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने समझदारी बनेको श्रेष्ठले बताए ।

बिहीबारको बैठकमा पछिल्लो समय नेपाली कांग्रेस र जसपाका नेताहरुसँग भएको छलफलबारे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले ब्रिफिङ गरेका थिए ।

बैठकमा नेताहरुले अहिले पनि परिस्थिति स्पष्ट भइनसकेको र कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्क्यौल गर्न दलहरु (कांग्रेस र जसपा)ले केही समय माग गरेकाले समर्थन फिर्ताबारे निणर्य नभएको नेता श्रेष्ठको भनाइ छ ।

‘अहिले पनि परिस्थिति स्पष्ट भइसकेको छैन । विभिन्न राजनीतिक पार्टीहरुसँग वार्ताको क्रममा अहिलेको राजनीतिक परिस्थितिमा अगाडि कसरी बढ्ने भन्ने बारेमा निर्क्यौल गर्न केही समय पनि माग गर्नुभएको छ,’ बिहीबार पार्टीको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेता श्रेष्ठले भने, ‘यो सबै परिस्थिति हेर्दा हामीले स्थायी कमिटीको औपचारिक बैठक १-२ दिनमा नै बसेर अहिलेको राजनीतिक घटनाक्रमहरुलाई कता लैजाने र हाम्रो भूमिकाका बारेमा हामी आवश्यक निणर्य लिने छौं ।’

नेता श्रेष्ठले ओली नेतृत्वको वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहेको, तर प्राविधिक रुपमा पत्र लेख्न मात्रै बाँकी रहेको बताए ।

‘यो सरकारलाई हाम्रो समर्थन छैन । प्राविधिकि रुपमा पत्र लेख्न मात्रै बाँकी हो,’ श्रेष्ठले भने, ‘हामी सबै राजनीतिक पार्टीलाई आ-आफ्नो कुरा प्रष्ट ल्याउन आग्रह गर्छौं । केपी ओलीकै सरकारमा जानु छ, समर्थन गर्नु छ भने गरे हुन्छ ।’

नेता श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई विस्थापित गर्ने आफूहरुको लाइन स्पष्ट भएको पनि बताए ।

‘हाम्रो लाइन प्रष्ट छ, केपी ओली नेतृत्वको सरकार विस्थापित गर्न चाहन्छौं र वर्तमान संसदलाई पूरा अवधि क्रियाशील बनाउन चाहन्छौं,’ नेता श्रेष्ठले भने ।


प्रतिक्रिया दिनुहोस्