अमेरिकी नागरिक टेलोर– जो बालयौन दुराचारकै लागि क्यालिफोर्नियाबाट पुगेका थिए पोखरा

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : ५८


काठमाडौं । बालयौन दुराचारको अभियोगमा प्रहरीले १ जना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले कास्कीको पोखरा महानगरपालिका-१८ सेदीस्थित बिष्णु होमस्टेबाट अमेरिकाकको क्यालिफोर्निया ठेगाना भएका माइकल नोरम्यान टेलोरलाई पक्राउ गरेको हो ।

राहदानी नम्बर ५६६९९२३०७ वाहक टेलोरलाई मंगलबार पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ ।

सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन दुराचार गरेको भन्ने पीडित बालक एवं अभिभावकहरुबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी प्राप्त भएको थियो ।

पीडित पक्षबाट उजुरी आएपछि खोजीमा जुटेको सीआईबीको टोलीले मंगलबार पोखराबाटै पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको देखिएको सीआईबीले जानकारी दिएको छ ।

अमेरिकामा रहँदादेखि टेलोरले बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक संजाल मार्फत सम्पर्क गर्ने गरेका थिए । उनी २०२१ मार्च २१ मा नेपाल अवतरण गरी बालयौन दुराचारको मनसाय राखी पोखरा गएको खुल्न आएको पनि सीआईबीले जानकारी दिएको छ ।

उनको साथबाट ४ हजार ६ सय अमेरीकी डलर, १ थान ल्यापटप, २ थान मोबाइल, १ थान आइप्याड, १ थान पेनड्राइभ, र १ थान अमेरिकन राहदानी बरामद भएको सीआईबीले जानकारी दिएको छ ।

पक्राउ परेका टेलोरमाथि आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउनको लागि जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा बुझाइएको सीआईबीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्