बैतडी । बैतडीको सिगासमा गाउँपालिकामा भेटिएको फलाम खानीको उत्खनन् शुरू गरिएको छ ।
गाउँपालिका–१ को सुगरखाल भन्ने स्थानमा फलाम खानी भेटिएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।
चैत ८ गतेबाट फलाम खानीमा उत्खनन्को काम भइरहेको छ । उनले भने, ‘खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको थियो, अध्ययनपश्चात सो ठाउँमा फलाम खानी रहेको देखिएकाले उत्खनन् शुरू गरिएको छ ।’
सो फलाम खानीमा सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खनन्को काम भइरहेको उनले बताए । सुभम मिनिरल्सले परीक्षणकालमा मात्रै करीब ८० प्रतिशत ढुंगामा फलाम भेटिएको बताएको छ ।
फलाम उत्खनन्का लागि वडा र गाउँपालिकाबाट सिफारिश दिएर काम शुरू भइसकेको छ । उनले भने, ‘चीनका विज्ञ टोली आएर खानी उत्खनन् शुरू भएको छ ।’
फलाम खानीमा फलाम भेटिएको खबर आएको र केही दिनभित्र विद्युत् विस्तारको तयारी समेत भइरहेको अध्यक्ष धामीले जानकारी दिए । फलाम खानी भेटिएसँगै सो ठाउँमा स्थानीयले रोजगारी पाउने अपेक्षा गरिएको छ ।
‘खानी भट्टिएसँगै यहाँका स्थानीयवासीले रोजगारी पाउने सम्भावना पनि छ,’ उनले भने । खानी भेट्टिएको स्थानमा ३३ केभी विद्युत् प्रसारण लाइन पुर्याउने लगायतका काम पनि भइरहेका छन् । यसका साथै सडक स्तरोन्नति पनि गरिने जनाइएको छ ।