मेरोसेयरमा समस्या मंगलबार साँझदेखि अवरूद्ध

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ११ : २४


काठमाडौं । बेला बेलामा समस्या आइरहेको मेरोसेयरको सेवा मंगलबार साँझ देखि बन्द भएको छ ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले मेरोसेयर डट सिडिसिएस डट कम डट एनपीमा सूचना राखेर सेवाग्राहीको चाप बढेकाले प्राविधिक समस्या देखा परेको बताएको छ ।

‘मेरो सेयरमा सेवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्राविधिक समस्याहरू देखा पर्दै आएकोमा सोको समाधानका लागि आकस्मिक रूपमा सर्भरहरू जडान गर्न पर्ने देखिएको र सो सर्भर जडान गरी डाटा माइग्रेसन गर्न केही समय लाग्ने भएकाले मिति २०७७/१२/१७ बेलुका ८ बजेदेखि केही समयका लागि मेरो सेयर सेवा अवरूद्ध हुने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ,‘मेरोसेयर सेवा अवरूद्ध हुँदा मिति २०७७/१२/१६ गते कारोबार भई २०७७/१२/१८ गते राफसाफ तथा फर्छ्यौट हुनुपर्ने कारोबारको इडिआइएस प्रविष्टि गर्ने समय २०७७/१२/१८ गते बिहान १० बजेसम्म कायम गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

पछिल्लो समय नेपालमा सेयर लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ । लाखौं संख्यामा सेवाग्राही थपिएपछि मेरोसेयरलाई चाप धान्न हम्मे भएको छ ।

 


प्रतिक्रिया दिनुहोस्