ठेकेदार-मजदुरबीच सहमतिपछि सडक विस्तारको काम पुनः शुरु

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १० : ०७


नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल–नारायणगढ सडक विस्तारको काम पुनः सञ्चालन भएको छ । मजदुर आन्दोलनका कारण १२ दिनदेखि ठप्प सडक विस्तारको काम निर्माण कम्पनीसँग सहमतिपछि मङ्गलबारबाट पुनः शुरु भएको हो ।

सडकखण्ड विस्तारका लागि काममा खटिएका मजदुरले तेल तथा माटो चोरी गरेर बिक्री गरेको आरोपमा दुवै पक्षबीच कुटपिट हुँदा मजदुरले काम ठप्प पारेका थिए ।

बुटवल– नारायणगढ सडक विस्तारको काम भइरहेको अवस्थामा खण्ड ‘क’ मा कार्यरत मजदुरले तेल तथा माटो चोरी गरेको भन्दै ठेकेदार पक्षले मजदुर निकालेको थियो ।

मजदुर निकालिएपछि देवचुली नगरपालिकास्थित रजहरमा रहेको ठेकेदार पक्षको साइट कार्यालयमा निर्माण पक्षले छलफलमा बोलाएर मजदुरलाई कुटपिट गरेको भन्दै मजदुर काममा गएका थिएनन् ।

कुटपिटको विषयमा दुवै पक्षबीच सहमति भएर मङ्गलबारबाट काम सञ्चालन भएको आयोजनाले जनाएको छ । “मजदुर र ठेकेदार दुवै पक्षबाट कुटपिट भएकाले अबदेखि कुटपिटमा नउत्रिने भन्ने सहमति भएको छ”, आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले भने “निर्माणमा प्रयोग भएको सामग्री चोरीको विषयमा भने प्रहरीले अनुसन्धान गर्ने सहमति भएको छ ।”

कुटपिटको विषयमा दुवै पक्षले प्रहरीमा उजुरी गरेका थिए । उजुरीपछि दुवै पक्षलाई छलफलमा राखेर सहमति गरिएको हाे । आयोजनाको खण्ड ‘क’ का विभिन्न स्थानमा करिब ४०० मजदुरले सडक विस्तारको काम गर्दै आएका थिए ।

सडक विस्तार आयोजनाको काम मजदुरले दोस्रोपटक बन्द गरेका हुन् । यसअघि तीन महिना पहिले पनि ठेकेदार कम्पनीले श्रम कानूनअनुसार व्यवहार नगरेको भन्दै मजदुरले हड्ताल गर्दा सडक विस्तारको काम प्रभावित बनेको थियो ।

यसअघि मजदुरको आन्दोलनका कारण रोकिएको काम एक हप्तापछि सम्झौता भएर पुनः अगाडि बढेको थियो । विभिन्न अवरोधका कारण सो सडक विस्तारको कामले गति लिनसकेको छैन ।

आयोजनाको काम शुरु भएको दुई वर्ष बितिसक्दा भौतिक प्रगति चार प्रतिशत मात्रै देखिएको बुटवल–नारायणगढ सडक आयोजनाका प्रमुख रमेशकुमार दिष्टीले बताए ।

आयोजनाको बाँकी रहेको ९६ प्रतिशत काम आगामी १८ महिनाभित्र सम्पन्न गर्न चुनौती भएको दिष्टीको भनाइ छ । कोभिडका कारण काम प्रभावित भएकाले केही महिना थप हुनसक्ने भए पनि निर्माण सम्पन्न गर्न त्यो समय पर्याप्त नहुने उनले बताए।

तत्कालीन राजा महेन्द्रबाट विसं २०१९ वैशाख १ गते उद्घाटन भएको दुई लेनको पूर्वपश्चिम राजमार्गको यस सडक विस्तार गरेर चार लेनको बनाइँदैछ ।

विस्तारको काम ४२ महिनामा सक्नुपर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते सडक विस्तार आयोजनाको शिलान्यास गरेका थिए । बुटवल–नारायणगढ खण्डको ११५ किलोमिटर सडकमध्ये गैँडाकोट–दाउन्ने खण्डको ६५ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेबाट बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको थियो ।

ग्लोबल टेण्डरमार्फत दुवै खण्डको निर्माणको जिम्मा चीनको निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कम्पनीले पाएको छ । बुटवल–नारायणगढ सडकखण्ड विस्तारको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ ।

एशियाली विकास बैंक (एडिबी)को ८५ प्रतिशत ऋण सहयोगमा सडक विस्तारको काम अगाडि बढेको हो । सडक विस्तारपछि शहरी क्षेत्रमा चार लेनका अतिरिक्त छ÷छ मिटरको सर्भिस लेनसमेत निर्माण हुनेछ भने दाउन्ने क्षेत्रमा तीन लेनमा सडक विस्तार गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्