ओलीले २ जनालाई पार्टीबाट निष्काशन गरेपछि खनाल–नेपाल पक्षको बैठक सुरु

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : ४४


काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि नेपाल खनाल समूह आन्तिरिक छलफलमा जुटेको छ ।

मध्याह्न १ बजेबाट कलंकीस्थित मेगा बैंक्वेटमा नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरू छलफलमा जुटेका हुन् । छलफलमा उक्त समूहका अधिकांश नेताहरु सहभागी भएका छन् । नेपाल समूहमा १४ जना स्थायी कमिटी सदस्य छन् ।

नेता नेपालसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, अमृत बोहरा, रघुजी पन्त, बेदुराम भुसालबीच छलफल जारी छ । नेता झलनाथ खनाल भने केही ढिलो गरि कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

अध्यक्ष ओलीले २ जना नेतालाई कारबाही गरेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न नेताहरु भेला हुन लागेको नेपाल पक्षका १ जना स्थायी कमिटी सदस्यले जानकारी दिए । देशव्यापी समानान्तर संरचना बनाउने नेपाल समूहको तयारी छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपा०नाम विवादमा फागुन २३ गते गरेको फैसला पछि ब्यूँतिएको नेकपा एमालेमा अध्यक्ष ओलीले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट नेताहरुले विरोध जनाउँदै आएका थिए ।

अध्यक्ष ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएर वरिष्ठ नेता खनाल र नेपाल पक्षमा रहेका नेताहरुको जिम्मेवारी खोसीदिएका थिए । ओलीले आफू अध्यक्ष र महासचिव बाहेक पार्टीका अन्य पदाधिकारीहरु समेत खारेज गरिदिएका थिए ।

आगामी मंसिर पहिलो हप्ता पार्टीको महाधिवेशन गर्ने भनेर ओलीले पार्टी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय समेत गरेका थिए ।

ओलीले फागुन २८ मा एकलौटी रुपमा गरेका निर्णय मान्य नहुने भने खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गतिविध सञ्चालन गरेको थियो ।

यसबीचमा खनाल–नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरी ओलीविरुद्ध देशव्यापी रुपमा नै भण्डाफोर अभियान चलाउने निर्णय गरेको थियो । यस्तै ओलीले भने वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल तथा नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गराएका थिए ।

नेपाल र रावलले ओलीमाथि नै विभिन्न प्रश्न उठाउँदै स्पष्टीकरणको जवाफ फर्काएका थिए ।

स्पष्टीकरण बुझाएको केही दिन पछि नै अनुशासन विपरीत गतिविधि गरेको भन्दै ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्वनको निर्णय गरेका हुन् ।

 

 

 


प्रतिक्रिया दिनुहोस्