श्रीमतीलाई किन जिस्क्याएको भन्दा निर्घात कुटिए श्रीमान्, तीन जना पक्राउ

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : २२


काठमाडौं । राजधानीको गोंगबुमा सोमबार विहान एक व्यक्तिलाई तीन जनाले निर्घात कुटपिट गरेका छन् ।

सुनसरी घर भई हाल गोंगबु बस्ने अमर लिम्बुमाथि गोंगबुको सडकमा तीन जनाले निर्घात कुटपिट गरेका थिए ।

उनीहरुले लिम्बुलाई कुटेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरिएको थियो ।

घटना भएको आधा घन्टामा नै उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तनहुँ घर भइ हाल बनस्थली बस्ने वर्ष २२ का भरत गुरुङ, ढुंगेधारा बस्ने वर्ष २५ का सोमबहादुर गुरुङ र धापासी बस्ने वर्ष २५ का दीपेन्द्रकुमार थापा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई आधा घण्टामा पक्रेर अभद्र व्यवहारको अभियोगमा कारबाही अघि बढाएको छ । काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहको कमाण्डमा खटिएको टोलीले आधा घण्टामा तीन जनालाई समातेको हो ।

लिम्बुकी श्रीमतीलाई तीन जनाले जिस्क्याएपछि विवाद सुरु भएको थियो । आफ्नी श्रीमतीलाई जिस्क्याएको भन्दै लिम्बुले किन जिस्क्याएको भन्दै प्रतिवाद गरिरहेका थिए तर तीन जनाले उनीमाथि निर्घात कुटपिट गरे ।


प्रतिक्रिया दिनुहोस्