होली खेल्ने क्रममा झडप हुँदा बारामा ६५ वर्षीया महिलाको मृत्यु

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : १०


कलैया । होली खेल्ने क्रममा झडप हुँदा बारामा १ महिलाको मृत्यु भएको छ ।

बाराको कलैया उपमहानगरपालिका–२३ भतौडामा होली खेल्ने क्रममा भएको विवादले उग्र रुप लिएपछि झडप हुँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया सन्जा देवी रहेकी जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । होली खेल्ने क्रममा सोमबार भएको झडपमा अन्य ६ जना सामान्य घाइते भएका छन् ।

प्रहरीका अनुसार झडपमा परी घाइते हुनेमा स्थानीय गिर्जा देवी, रामदेव शाह, राजेश साह, विन्देशवर साह, अम्बिका साह र रामप्रसाद साह छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे अनुसन्धानका लागि ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिए ।
झडपकै क्रममा महिलाको मृत्यु भएको भनिएपनि के–कसरी झगडा भएको हो भन्ने विषय भने खुल्न बाँकी रहेको डीएसपी मिश्रले बताए ।

झडपका क्रममा मृत्यु भएकी सन्जा देवीको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्