ओलीलाई घनश्याम भुसालको प्रतिप्रश्न- कसका लागि यो सब गर्दै हुनुहुन्छ कमरेड ?

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १२ : ३३


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् ।

स्पष्टीकरणको जवाफमा भुसालले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको बताएका छन् । भुसालले ओलीलाई प्रश्न गरेका छन्, ‘तपाईंले अहिले हिँडिरहेको बाटो रहस्यमय छ । कसको बलमा, कसका लाग यो सबै गर्दै हुनुहुन्छ ?’

ओलीलाई घोर व्यक्तिवादको नशाबाट ब्यूँझिन आग्रह गर्दै भुसालले स्पष्टीकरणको जवाफमा लेखेका छन्, ‘सत्ता र शक्तिको भोगका हिसाबले तपाईंले पाउन अझै के बाँकी छ ? पार्टीलाई बन्धक बनाएर तपाईंले ती सबै पूरा गर्नुभयो ।’

नेता भुसालले क्रान्ति जसरी पनि अगाडि बढ्ने उल्लेख गर्दै आज, भोली वा पर्सी दण्डित हुने भन्दै ओलीलाई चेतावनी दिएका छन् ।

‘मेरो लाख लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुहोस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस्,’ भुसालले ओलीलाई भनेका छन्, ‘क्रान्ति त अघि बड्छ बड्छ । आज वा भोली वा पर्सी तपाईं दण्डित हुनु हुनेछ ।’


प्रतिक्रिया दिनुहोस्