पुराना वामपन्थी नेता मानन्धरको अन्त्येष्टि

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ११ : ४७


काठमाडौं । सोमबार साँझ पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको मङ्गलबार अन्तिम संस्कार गरिएको छ ।

मानन्धरको मंगलबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो ।

नेता मानन्धरलाई अन्तिम बिदाइ गर्न सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, पूर्वसभामुख कृष्णबहादुर महरालगायत आर्यघाट पुगेका थिए ।

विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ ८.२० मा निधन भएको थियो ।

राणाविरोधी आन्दोलनदेखि राजनीतिमा सक्रिय भएका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित थिए । जिन्दगीभर कुनै पनि सरकारी पद लिन नचाहेका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आएका थिए ।

नेकपा (संयुक्त) स्थापनामा उनको ठूलो योगदान रहेको छ । विसं २०४६ को जनआन्दोलनपछि उनलाई मन्त्री बन्न आग्रह गरिएपनि उनले नीलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गरे ।

नेता मानन्धरले कम्युनिष्ट आन्दोलनमा हुर्किएको अवसरवादको सधै प्रतिवाद गर्दै आएको उनलाई चिन्ने जान्ने नेताहरुको भनाइ छ ।

मानन्धरले संयुक्त वाममोर्चा निर्माणदेखि पछिल्लो पटक नेकपा (संयुक्त) सम्मको स्थापनामा महत्त्वपूर्ण योगदान गरेका थिए ।

उनका छोरा सुनिल मानन्धर नेकपा (माओवादी केन्द्र) का नेता छन् । यस्तै, उनका तीन छोरी छन् ।


प्रतिक्रिया दिनुहोस्