बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १० : ३५


दमौली । तनहुँको म्याग्दे गाउँपालिका–२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान हुनुहुन्छ । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उनी मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित छन् ।

खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुनासो छ ।

“खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण पनि गर्ने गरेको छ, बाँदर आतङ्कबाट हैरानै भइयो”, श्रेष्ठले भने, “बाँदर आतङ्कबाट छुटकारा चाहिएको छ ।”

यहाँका कृषकलाई बाँदर आतङ्कबाट मुक्त गराउन डिभिजन वन कार्यालय तनहुँले जङ्गलमा फलफूलको बिरुवा रोप्ने कार्यक्रम अगाडि सारेको छ ।

बाँदर आतङ्क न्यूनीकरण गर्न सबडिभिजन वन कार्यालय म्याग्देको सिफारिसबमोजिम उमाचोक सामुदायिक वनमा फलफूलका बिरुवा रोप्ने तयारी गरेको वन समूहका अध्यक्षसमेत रहेका श्रेष्ठले बताए ।

सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले तनहुँमै पहिलोपटक उमाचोकमा बाँदर भुलाउन जङ्गलमा फलफूलको बिरुवा रोपण गर्न लागिएको जानकारी दिनुभयो ।

“बाँदरले आफ्नो आहाराको अभावमा किसानको खेतीबाली नष्ट गर्ने तथा मानिसलाई नै आक्रमण गर्ने समस्या न्यूनीकरणका लागि फलफूलका बिरुवा लगाउन लागेका हौँ”, रानाभाटले भन्नुभयो ।

यस कार्यक्रमका लागि डिभिजन वन कार्यालय तनहुँले रु सात लाख ५० हजार सहयोग गरेको छ भने २० प्रतिशत सामुदायिक वनले लागत साझेदारी गर्नेछ ।

सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा करिब ८४० वटा विभिन्न प्रजातिका वनजन्य फलफूलको बिरुवा रोपिनेछ । काफल, चिउरी, जामुन, अमला, लोकल आँपहरु, कटहर, चिलीलगायतका फलफूलका बिरुवा उत्पादन गरिनेछ ।

दुई÷तीन वर्षमा फलफूल उत्पादन हुने भएपछि बाँदर जङ्गलमै भुल्ने र बस्तीसम्म नजाने विश्वास गरिएको छ । म्याग्देमा बाँदरले दुःख दिन थालेपछि गत वर्ष गाउँपालिकाले कृषकलाई बाँदर भगाउने उपकरण प्रदान गरेको थियो तर उक्त उपकरण प्रभावकारी नभएको कृषकको भनाइ छ ।

म्याग्दे गाउँपालिका–२ का कृषक बुद्धिबहादुर मगरले बाँदरले दुःख दिएपछि दिनभर बारी कुरेर बस्नुपर्ने बाध्यता रहेको बताए । विगतमा धेरैपटक खेतबारीमै गएर महिलालाई आक्रमण समेत गर्ने गरेको घटना छ ।


प्रतिक्रिया दिनुहोस्