किमलाई भेट्न बाइडेन इच्छुक छैनन्ः ह्वाइट हाउस

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ३१


काठमाडौं । राष्ट्रपति जो बाइडन उत्तर कोरियाली नेता किम जङ-अनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले पुष्टि गरेको छ।

अमेरिकी अधिकारीहरू भन्छन्, उत्तर कोरियाप्रति राष्ट्रपति बाइडनको रवैया उनका पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा फरक हुनेछ। बाइडनले किमलाई भेट्न किन चाहेका छैनन् भन्नेबारे ह्वाइट हाउसले केही उल्लेख गरेको छैन।

एकअर्कालाई धम्की दिने गरेको एक वर्षपछि सन् २०१८ मा ट्रम्प र किमबीच पहिलो पटक सिङ्गापुरमा भेटवार्ता भएको थियो।

बीबीसी समाचार अनुसार उत्तर कोरियाली नेतालाई भेट्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति थिए।

त्यसको एक वर्षपछि सन् २०१९ मा दुई नेताबीच कोरियाली असैनिकीकृत क्षेत्रमा भेटघाट भएको थियो। दुई साताअघि बाइडन प्रशासनले गत फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरिए पनि प्योङ्याङबाट कुनै जबाफ नपाएको बताएको थियो।


प्रतिक्रिया दिनुहोस्