माउन्टेन गाइड लाइसेन्स वितरण रोकियो

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ०५


काठमाडौं । पर्यटन विभागले वितरण गरिरहेको पर्वतीय पथ प्रदर्शक इजाजतपत्र ‘माउन्टेन गाइड लाइसेन्स’ वितरण कार्य स्थगित भएको जनाएको छ ।

विभागले सोमबार सूचना जारी गरि अदालतको उत्प्रेषणको आदेश जारी भएको भन्दै अर्को सूचना नआएसम्म परिचयपत्र वितरणसँग सम्बन्धित सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो ।

विभागले नेपालको पर्वतीय पर्यटनलाई थप व्यावसायिक, मर्यादित तथा व्यवस्थित गर्नका लागि केहीदिन अघिदेखि पर्वतीय पथ प्रदर्शक इजाजतपत्र उपलब्ध गराएको थियो ।

पहिलो इजाजतपत्र विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पालाई प्रदान गरिएको थियो । विश्वविख्यात आरोहीको चिरस्मरण हुनेगरी आरोहणलाई व्यवस्थित बनाउने उद्देश्यले सुरु गरिएको परिचयपत्र अदालतको आदेशका कारण हाललाई स्थगित गरिएको विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।

‘कीर्तिमानी आरोहीको सम्मान तथा आरोहणलाई व्यवस्थित गर्नेगरी इजाजतपत्र दिन खोजिएको हो । कतिपय आरोहीले हामीलाई मात्र हुनुपर्छ भनेर माग गर्नुभएको छ, अब अदालतको आदेशानुरुप अघि बढ्नुपर्ने हुन्छ’, उनले भनिन् ।

विभागबाट हालसम्म ११० भन्दा बढीले इजाजतपत्र लिएका छन् । विभागले निश्चित मापदण्ड बनाएर नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले सिफारिस गरेको आधारमा यस्तो इजाजत दिन्छ ।

करिब एक हजार ५०० ले इजाजत लिने विभागको अनुमान छ । पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० (चौथो संशोधन, २०७७) को दफा ५७ (क) बमोजिम विभागले उक्त परिचयपत्र वितरण गरिँदै आएको थियो ।

सर्वोच्च अदालतको वादी लाक्पा रड्डु शेर्पा र प्रतिवादी नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भएको उत्प्रेषण रिट नं ०७७ डब्लूओ ०९१२ तथा वादी तेण्डी शेर्पा र प्रतिवादी पर्यटन मन्त्रालय भएको उत्प्रेषण रिट नं ०७७ डब्लूओ ०९३० मुद्दामा चैत ९ गतेको उत्प्रेषणको आदेश जारी भएको विभागको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्