वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ९ : १८


पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको आज निधन भएको छ।

विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहनुभएका नेता मानन्धरको ९१ वर्षको उमेरमा आज साँझ ८ : २० मा निधन भएको उनका ज्वाई डा.नारायण श्रेष्ठले जानकारी दिए।

राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लाग्नुभएका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित थिए। जिन्दगीभर कुनै पनि सरकारी पद लिन नचाहनुभएका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आए।

नेकपा संयुक्त स्थापनामा उनको ठूलो योगदान रहेको छ। विसं २०४६ को जनआन्दोलनपछि उहाँलाई मन्त्री बन्न आग्रह गरिएपनि उनले निलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गरे।

नेता मानन्धरले कम्युनिष्ट आन्दोलनमा हुर्किएको अवसरवादको सधै प्रतिवाद गर्दै आएका उनलाई चिन्ने जान्ने नेताहरुको भनाइ छ।

संयुक्त वाममोर्चा निर्माणदेखि पछिल्लो पटक नेकपा संयुक्त सम्मको स्थापनामा महत्वपूर्ण योगदान गर्नुभएका मानन्धर खास अर्थमा सर्वहारा नेताको रुपमा आफूलाई स्थापित गरे।

पूर्वमन्त्री गणेश शाहका शब्दमा नेता मानन्धरले जिन्दगीभर ‘मलाई कुनै पनि सरकारी सेवा तथा सुविधाको पद चाहिदैन, नेपाली जनताको हितबाहेक मेरा लागि अरु सबै विषय गौण हुन’ भन्ने मान्यता राखे ।

उनका छोरा सुनिल मानन्धर नेकपा माओवादी केन्द्रका नेता छन। यस्तै, उनका तीन छोरी छन्। दिवङ्गत नेता मानन्धरको मङ्गलबार बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने ज्वाई श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्