थ्री नेसन्स कपको उपाधी नेपाललाई

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : १९


काठमाडौं । ‘थ्री नेसन्स कप’को उपाधी नेपालले जितेको छ।

नेपाली राष्ट्रिय फुटबल टोलीले तीन राष्ट्र राष्ट्रबीच दशरथ रंगशालामा भएको फाइनलमा बाङ्ग्लादेशलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै उपाधि जितेको हो।

लामो समय देखि गोल गर्न चुकिरहेको नेपालका लागि सञ्जोग राई र विशाल राईले गोल गरेका हुन्।

दुबै गोल ‘पहिलो हाफ’मा भएको थियो। खेलको १७ औं मिनेटमा कर्नर प्रहारमा विपक्षीले फर्काएको बलमा सञ्जोगले बाँया खुट्टाबाट गरेका कडा प्रहार गोलमा परिणत भएको थियो।

मध्यान्तर हुनु ३ मिनेट अगाडि विशाल राईले गोल गरे। रन्जित धिमालको पासमा उनले विपक्षी डि बक्स भित्र पाएको ‘वान भर्सेस वान’ अवसरमा गोल गरेका हुन्।

लिगमा राखिएका अशिषेक रिजाल र रवि पासवानलाई हटाएर पहिलो रोजाईमा विशाई राई र सुनिल बललाई राखेर नेपालले खेल सुरु गरेको थियो।

जहाँ टोलीले खेल सुरु भएदेखि नै एकपछि अर्को आक्रमण बुनेको थियो।

‘दोस्रो हाफ’मा पनि नेपाली खेलाडीहरुले आक्रमणलाई निरन्तरता दिएका थिए।

तर खेलको ८२ औं मिनेटमा बाङ्ग्लादेशका मेहबुब रहमानले कर्नरमा प्राप्त बलमा हेडबाट गोल फर्काए।

लिगको दुबै खेलमा नेपालले गोल गर्न नसकेपछि अग्रपंक्तिका खेलाडीका साथै प्रशिक्षक बालगोपाल महर्जनको आलोचना भएको थियो।

तीन राष्ट्र सम्मिलित प्रतियोगितामा कीर्गिस्तान ९यु(२३० को टोली भने बाङ्ग्लादेशसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो।

त्रिदेब गुरुङ, सञ्जोग राई र निशान खड्काले यसै प्रतियोगिताबाट पहिलो पटक राष्ट्रिय टोलीको जर्सी (डेब्यु) लगाएका छन्।

आजको खेल हेर्न प्रधानमन्त्री ओली पनि रंगशालामै पुगेका थिए।


प्रतिक्रिया दिनुहोस्