देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  २ : ३२


काठमाडौं । सरकारले उपत्यका सहित देशभरका विद्यालय ४ दिनसम्म बिदा गर्ने निर्णय गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै भन्दै शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।

अहिले चलिरहेको परीक्षालाई छोडेर बाँकी सबै शैक्षिक कार्य भोलिदेखि शनिबारसम्म बन्द गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

वरपरका जिल्लामा डढेलो लागेको कारण राजधानी उपत्यकामा तीनरचार दिनयता मौसम प्रतिकूल बनिरहेको छ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।

बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए। देशभरका विद्यालयहरु बन्द रहेपनि पूर्वनिर्धारित परीक्षाहरु भने रोकिने छैनन्।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ।

मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ।


प्रतिक्रिया दिनुहोस्