वायु प्रदुषणको प्रभाव– विद्यालय बन्द गर्ने सरकारको तयारी

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  २ : १८


काठमाडौं । बायु प्रदुषण उच्च भएसँगै सरकारले विद्यालयहरु बन्द गर्ने तयारी गरेको छ ।

वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए ।

विद्यालय बन्द गर्नेबारे छिट्टै निर्णय हुने ओलीले बताए । प्रधानममन्त्री ओलीले भने, ‘छिट्टै यसबारे निर्णय हुन्छ ।’

‘अहिले पनि स्वास फेर्न अफ्ट्यारो परिरहेको छ । हामी त्यस्तो स्थितिमा पुगेका छौं । हामी केही दिनका लागि स्कूलहरु बिदा गर्नेबारे सोचिरहेका छौं ‘ प्रधानमन्त्री ओलीले भने,’यतिबेला अध्ययन अध्यापनलाई नियमित गर्ने कुरा बालबालिकाको स्वास्थ्यका लागि उपयुक्त नहुन सक्छ ।’

उनले जीवन सुरक्षित रहेमात्र अन्य कुराहरु सोच्न सकिने बताए ।

केही दिनयता काठमाडौं लगायतका क्षेत्रमा वायुप्रदुषण उच्च विन्दूमा पुगेको छ । जसका कारण आँखा पोल्ने, दिन धुम्म हुने लगायतका समस्या देखिएको छ । मानव स्वास्थ्यमा गम्भीर असर पुग्न सक्ने भन्दै चिकित्सकहरु चिन्ता व्यक्त गरिरहेका बेला सरकारले विद्यालय बन्द गर्ने तयारी गरेको हो ।

मौसमविद्हरुले मौसममा सुधार आउन अझै केहीदिन लाग्ने बताउँदै आएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले मंगलबारबाट यो अवस्थामा केही सुधार आउने भए पनि पूर्ण रुपमा सुधार आउन समय लाग्ने बताए । । ‘यो अवस्थामा पूर्ण सुधार आउन कि त ठूलै हुरी चल्नुपर्छ, कि त ठूलै पानी पर्नुपर्छ,’ उनले भने, ‘उपत्यकामाथिको वायुमण्डल एकप्रकारले जाम भएको छ, त्यसलाई हुरीले हटाएमा वा ठूलै वर्षा भएर बादल तथा धुलोका कणलाई हटाएमा मात्र पूर्ण रुपमा सुधार हुने देखिन्छ ।’

उनका अनुसार अहिलेसम्म ‘प्रि–मनसुन’ सक्रिय भएको छैन । अहिले वायुमण्डलमा देखिएको समस्या प्रि–मनसुन सक्रिय भएपछि मात्र पूर्ण रुपमा हट्ने उनको भनाइ छ । यसका लागि चैत अन्तिम वा वैशाख नै लाग्नसक्ने समेत उनले बताए ।


प्रतिक्रिया दिनुहोस्